कोरोनाबाट विदेशमा तीन सय नेपालीको मृत्यु

मंसिर २१ । कोरोना संक्रमणका कारण विश्वका विभिन्न २० देशमा हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय एक पुगेको हो । यो हप्ता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशका ४९ देशमा ४८ हजार ६ सय ३९ गैरआवासीय सङ्क्रमित भएका छन् । त्यही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: