चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तिमा गैँडाको बच्चा मृत फेला

चितवन, मंसिर ११ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती बनमा गैँडाको बच्चा मृत फेला परेको छ ।
पुर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५ महिनाको पोथी बच्चा अर्थात केटी मृत भेटिएको हो । भाले गैंडाको आक्रमणबाट बच्चा मरेको हुन सक्ने निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रम्हखाग तथा खुर सुरक्षित रहेको छ । यो संगै चालु आर्थिक बर्ष २०७७ ।७८ को यो समयसम्म मृत्यु हुने गैँडाको सख्या १५ पुगेको छ ।
पछिल्लो समय विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढे पछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न । चोरी सिकारीबाट गैँडाहरु मरेपनि मानिसहरु पक्राउ परेका छैनन् भने प्राकृतिक कारणबाट अधिक गैँडा मरेपछि कारण पत्ता लगाउन गठित समितिले बुझाएको प्रतिवेदन निकुञ्जले अझै सार्वजनिक गरेको छैन । सन् २०१५ मा गरिएको गैँडा गणनाबाट ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । त्यसपछि गैँडा गणना भएको छैन । गत चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु हुने तयारी हुँदा कोभिड १९ का कारणले रोकिएको थियो ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरण र बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दोस्रो चराणमा गणना गरिने कार्यतालिका थियो । चारवटा निकुञ्जमा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणनाका लागि ३५ हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी थियो । विगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्ने बताएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणनाका लागि रु एक करोड १० लाख ३५ हजार रकम बजेट समेत विनियोजन गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: