चितवन निकुञ्जमा अर्नाले जन्मायो बच्चा

चितवन, मङ्सिर ११ । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । स्थानान्तरण गरी ल्याइएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबार जन्मिएको भए पनि अझै लिङ्ग पहिचान भने गर्न सकिएको छैन । खुला खोरको झाडीमा रहेकाले पहिचान गर्न कठिन भएको उहाँले बताउनुभयो ।

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पदमपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको छ । सरकारको विसं ०७१ को निर्णयानुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिनुभयो ।

यहाँ स्थानान्तरणपछि योसहित पाँच वटा बच्चा जन्मिएका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ ।

उक्त निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: