बेनपाद्धारा कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कोरोना (भाइरस) कोभिड–१९ रोकथामका लागि भएको खर्च विवरण सोमबार सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कोरोना प्रकोप ब्यवस्थापन कोष मार्फत विभिन्न शिर्षकमा भएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले कोषमा एक करोड ३७ लाख तीस हजार ३७३ रुपैयाँ आम्दानी, ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च र ५५ लाख ९७ हजार २६१ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

क्वारेन्टिन निर्माण, बन्दोबस्तिका सामान ब्यवस्थापन र क्वारेन्टिनमा बसेका २१२ जनाको खानामा १३ लाख ५८ हजार ७९८ रुपैयाँ, एक हजार ३८२ परिवारलाई राहत वितरणमा २९ लाख ४४ हजार ६१७, दश वटै वडामा पाँच पाँच जनाका दरले परिचालन भएका स्वमसेवकलाई खाना तथा खाजाका लागि दैनिक पाँच सय रुपैयाँका दरले दुई लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको छ ।

यसैगरी भारतबाट सिमा नाकामा आएका र विदेशबाट काठमाडौको होल्डीङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश सैयाको आइसुलेशन बनाउन १७ लाख ८३ हजार र स्वास्थ्य सुरक्षाका सामग्री तथा औषधी खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैयाँ खर्च भएको प्रवत्ता बराइलीले बताउनुभयो ।

कोरोना कोषमा नगरपालिकाले एक करोड छ लाख पाँच हजार जम्मा गरेको थियो । बेनी खानेपानी उपभोक्ता संस्थाले एक लाख, प्रदेश सरकारले दश लाख, अर्थ मन्त्रालयले दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुले १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुले दुई लाख २९ हजार ८६१, कर्मचारीहरुले एक लाख ६९ हजार १५५ रुपैयाँ सहयोग गरेका छन् ।

बिजय लघुवित्त संस्थाले दश हजार, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिस हजार, सिवाइसी नेपालले पाँच हजार, धवलागिरी लघुवित्तले दश हजार रुपैयाँ सहयोग गरेका छन् । बस्तुगत तर्फ काठमाडौमा बस्ने म्याग्दीबासीहरुले १७ थान पिपिई सेट, म्याग्दी उद्योग वाणिज्य संघले २४ पिस केएन ९५ मास्क, ७ लिटर स्यानीटाइजर, पाण्डे मेडिकल हलले एक लाख बराबरको औषधी र नारायण जिसीले पाँच लिटर स्यानीटाइजर सहयोग गर्नुभएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताउनुभयो ।

बेनी नगरपालिकाका १२ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा उनिहरु सबै निको भएका छन् । कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार समुदाय स्तरमा कोरोना भित्रिन नदिन सतकर्ताका साथै जनचेतना अभिवृद्धीका कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कालीपुलको होल्डीङ सेन्टरमा आलो पालो गरेर नगरपालिकाले जनशक्ति खटाउने उहाँले बताउनुभयो । कोरोना रोकथाम गर्न नगरपालिकाले आफू भूमिका र सक्रियता बढाएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सामुदायिक विद्यालयमा अध्यापन गराउन शिक्षकहरुलाई समुदाय स्तरमा कोरोना विरुद्ध सचेतना फैलाउन परिचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताउनुभयो ।

विद्यालय बन्द भएका, वैकल्पिक स्वअध्ययन सामग्री वितरण गरिएको जानकारी दिदै वडा कार्यालयले समन्वय गरेर शिक्षकहरुलाई जनचेतना अभिवृद्धीमा परिचालन गरिने उहाँले बताउनुभयो । भदौ २ गते जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्चको पारदर्शीताको विषयमा प्रश्न उठेको थियो ।

म्याग्दीमा बेनी नगरपालिकाले पहिलो पटक आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । डिसिसिएमसीका संयोजक समेत रहेका प्रजिअ उमाकान्त अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरोकारवाला मार्फत भएका खर्च विवरण संकलन गर्ने र डिसिसिएमसीको खर्च पनि सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: