बेनी–जोमसोम सडकमा डेढ महिनापछि यातायात सूचारु

बेनी, । बेनी–जोमसोम सडक ४५ दिनपछि सोमबार दिउँसोबाट सञ्चालन भएको छ ।

७६ किलोमिटर दुरीको सडकको विभिन्न ठाउँमा बाढी र पहिरोले सडक बगाउने तथा भत्काउने गरेका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको थियो । मर्मतको काम सकिएपछि सोमबार दिउँसोबाट सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पहिरो खसेका ठाउँमा नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरेर ट्याक खोलिएको छ । अन्य ठाउँमा अवरुद्ध सडक यसअघिनै मर्मत सकिएको थियो ।

असार २६ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । धिरच्याङ, जलथले, गुइठेभिर, खामभित्ता, दुवाडी, तितर, रुप्से, घाँसा, घैकु लगायतका ठाउँमा पहिरो पन्छाइएको छ ।

रुप्से, घाँसा र घैकुमा निर्माणाधिन मोटर चल्ने पुल बाढीले बगाएको छ । नयाँ मार्ग खोलेर सडक खोलिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

बेनी–जोमसोम सडक अवरुद्ध हुदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषि उपज निकासी हुन सकेको थिएन् । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: