हिलापोखरीकी अनिताले उपचार पाइन

बेनी, ६ भदौ । कलेजोको छेउमा पानी जमेर थला परेकी म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीकी अनिता परियारको उपचार सफल भएको छ ।

आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेर समस्यामा परेकी अनिताको पिडाको बारेमा समाचार सार्वजनिक भएपछि विभिन्न संघ संस्था र दाताले सहयोग गरेका थिए । सहयोग जुटाएर पोखराको गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरेर निको भई शनिबार घर पुगेको अनिताका श्रीमान सुरेशले बताउनुभयो ।

९ दिन गण्डकी अस्पताल र ७ दिन बेनी अस्पतालमा उपचार पछि निको भएर घर गएका हुन् । शल्यक्रियाका लागि आवश्यक पर्ने रकम जुटाउन नसकेर एक वर्षदेखि थलिएकी परियारको पिडाको बारेमा साउन १७ गते सिबिखबर डटकम र १८ गतेको रिखार दैनिक पत्रिकामा समाचार प्रकाशन भएको थियो ।

एक वर्षअघि शरिरको दाहिने भागतर्फको भाग दुखेर परिक्षण गराउँदा चिकित्सकले कलेजोमा पानी जमेको बताएका थिए । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएपनि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी अनिता पैसा जुटाउन नसकेपछि घर फर्किएकी थिइन् ।

७८ हजार ५०० रुपैयाँ संकलन भएकोमा शल्यक्रिया सहित ६८ हजार रुपैयाँ खर्च भएको र बचत भएको दश हजार ५०० रुपैयाँ बाटोखर्च दिएर बेनीबाट घर पठाएको सहयोग जुटाउन समन्वय गर्नुभएका सुरेशका मामा भिमबहादुर नौबागले जानकारी दिनुभयो ।

ओमकुमारी शान्ति कोषले दश हजार, कोषका अध्यक्ष राजेश शाक्यले पाँच हजार, साउदीमा बेलबहादुर परियारले संकलन गरेको बीस हजार, बेनीको यति होटलकी सञ्चालक बिमला गौचनले दश हजार, बेनी–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले दुई हजार, ताकमका सन्तोष गौतमले तीन हजार पाँच सय, धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले चार हजार, हिलापोखरी गाउँबाट संकलन भएको दश हजार, धारापानी गाउबाट संकलन भएको छ हजार, सिरकुमार परियारबाट एक हजार पाँच सय, बेनीकी सरस्वती बिकले एक हजार, मुनाकी राममाया पुनले एक हजार, घण्टीवाङकी अनिताकी बज्यैले पाँच सय रुपैया सहयोग गर्नुभएको थियो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ्य बिमाका लागि तीन हजार पाँच सय र यति होटलकी सञ्चालक बिमला गौचनले बेनीबाट पोखरा पुग्न हेलिकप्टरको ब्यवस्था गरिदिनुभएको थियो । सहयोग दाताहरुलाई अनिताले धन्यवाद दिएकी छिन् । निम्न बर्गका परियार दम्पत्ति ज्याला मजदुरी र खेतिकिसानी गरेर जिविकोपार्जन गर्दै आएका छन् । उनिहरुका चार वर्षका एक छोरी समेत छिन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: