बाढी पसेपछि महभिरमा चार घर विस्थापित

बेनी, म्याग्दीको अन्नपूर्ण गाउपालिका–७ महभिरमा बस्ति माथिको सडकबाट आएको बाढी पसेपछि शनिबार चार घर विस्थापित भएका छन् ।

महभिर–घराम्दी सडकबाट आएको बाढी पसेर क्षति पुगेपछि जोखिममा परेका परिवारलाई अन्नपूर्ण गाउपालिका र स्थानीयबासीले स्थान्तान्तरण गरेका हुन् ।

गिरबहादुर नेपाली, अबिराज गर्बुजा, चन्द्र गर्बुजा र खिमबहादुर पुर्जाको घरभित्र बाढी पसेर क्षति पुगेको स्थानीय अममाया पुनले जानकारी दिनुभयो । घरमा बस्न नमिल्ने र थप बाढी आउने जोखिम भएपछि उनिहरुका घरका सामान नजिकका सुरक्षित घरमा सारेर त्यही बस्ने ब्यवस्था मिलाइएको छ ।

पहिरो र बाढीले महरिभमा खानेपानी आयोजनाको पाइप बगाएको छ । करिब १५ घरधुरीलाई खानेपानीको समस्या भएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर लगायतको टोलीले शनिबार बिहान बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको थियो ।

निरिक्षणकै क्रममा डोजर परिचालन गरेर खोल्साको बाढीलाई बस्तितिर नआउने गरि तर्काइएको थियो । विस्थापितहरुलाई बसोबासका लागि टहरा बनाउन त्रिपाल र खानेपानी आपुर्तिका लागि पाइप उपलब्ध गराउने गाउपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

पहिरोका कारण महभिरको छिमेकी गाउँ दोसल्लेमा ७ परिवार एक महिनादेखि विस्थापित भएका छन् । अन्नपूर्ण गाउपालिकाको काभ्रे, भुरुङ तातोपानी, कोप्चेपानी, धिरच्याङमा पहिरो, नदी कटान र बाढीले क्षति पु¥याएको छ । काभ्रेका एक जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो भने एक जना बाढीले बगाएर वेपत्ता भएका छन् । तस्बिर टकबहादुर पुन

Leave a Reply

Scroll to Top
%d bloggers like this: