जलेश्वरमा पहिरो रोकथामका लागि भूमिगत पानीको ब्यवस्थापन

बेनी,  । बेनी नगरपालिका–८ जलेश्वरको पहिरो रोकथामका लागि शनिबार भूमिगत पानीको ब्यवस्थापन गरिएको छ ।

बेनी–गलेश्वर सडक अन्तरगत जलेश्वरमा दैनिक रुपमा खसिरहने पहिरोको तत्कालीन रोकथामका लागि जिल्ला विपद् ब्यवस्थपन समिति र बेनी नगरपालिकाले पानीको ब्यवस्थापन गरेका हुन् ।

सडक माथिको पहिरोमा रहेका भूमिगत पानीलाई मुहानमा पाइप राखेर ब्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । बेनी नगरपालिकाले ११० एमएम, ६ केजी प्रेसरको ६२ मिटर पाइप उपलब्ध गराएको थियो ।

 

शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउँसो दुई घण्टा श्रमदान गरेर पानीको ब्यवस्थापन गरेका हुन् । पानी ब्यवस्थापन गरेपछि पहिरो जाने क्रम कम हुने र जिल्लाको लाइफलाइन मानिएको सडकमा नियमित सवारी सञ्चालन गर्न सकिने अपेक्षा गरिएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिनुभयो ।

पानी ब्यवस्थापनको काममा प्रजिअ अधिकारी, सेनाको श्रीबक्स गुल्मका सेनानी रोशन थापा, प्रहरी नायव उपरिक्षक किरनजंग कुँवर, शसस्त्रका डिएसपी हरि गुरुङ, सहायक प्रजिअ सुवेदी सहितको टोली पहिरो स्थलमा खटिनुभएको थियो । बिहान नगरप्रमुख श्रेष्ठ र विपद् ब्यवस्थापन समितिको टोलीले पहिरोको निरिक्षण गरेका थिए ।

अल्पकालिन रुपमा पाइप मार्फत पानी ब्यवस्थापन गरिएपनि दिर्घकालिन समाधानका लागि भ्यागुते छहराबाट आउने पानीलाई ब्यवस्थापन गर्ने विपद् ब्यवस्थापन समितिले जनाएको छ । जलेश्वरमा सडक खनिएपछि २०५२ सालमा पहिरो गएको थियो । पुरानो पहिरो रोकिएपनि सडक विस्तारका क्रममा पाखो भत्काउने तर संरक्षणको काम नगर्दा यो वर्षदेखि करिब किलोमिटर माथि सम्म पाखोबारी धाँजा फाटेर चिराचिरा भई पहिरो खस्न थालेको छ ।

जलेश्वरको बस्ति जोखिममा परेको छ । ५० रोपनी भन्दा बढी पाखोबारी र हाम्रो कृषि फार्मका संरचनामा पूर्ण रुपमा क्षति पुगेको जलेश्वरका इन्द्र बरुवालले बताउनुभयो । बेनी गलेश्वर सडक आयोजना सञ्चालन गर्ने कार्यालय, ठेकेदार र सम्बद्ध सरोकारवालाहरुको बेवास्ताका कारण पुर्व जानकारी गराएपनि रोकथाम नहुँदा पहिरोको समस्या बढेको बरुवालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: