बेनीमा कालीगण्डकीले कटान गर्न थाल्यो

बेनी, २३ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालीगण्डकी नदीले कटान गर्न थालेको छ ।

कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएको छ । बिहीबार राती करिब दश मिटर दुरिमा लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ ।

कालीगण्डकीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको छ । गत वर्ष रुपाताल एकिकृत संरक्षण परियोजनाले उपभोक्ता समिति मार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो ।

यसअघि सो ठाउँमा निर्माण भएको पक्कि पर्खाल २०७५ भदौ २७ गते रघुगंगा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडीको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको भन्दै बजारबासी चिन्तित भएका छन् ।

कटान रोकथामका लागि रुपाताल एकिकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम सुरु गरिने बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावीयन पर्खाल निर्माणको काम भैरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: