म्याग्दीमा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सांसद केसीको माग

बेनी, २३ साउन । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न माग गर्नुभएको छ ।

पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकको विशेष समयमा सांसद केसीले पहिरो, कटान र बाढीजन्य बिपद्बाट प्रभावित म्याग्दी जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

चार जिल्ला हेर्ने गरि पर्वतमा राखिएको कार्यालयका सिमित कर्मचारीले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीका जोखिमयुक्त बस्तिको पहिचान, संरक्षण र भु–क्षय रोकथामको काम गर्न कठिनाई भएकाले जिल्लामै कार्यालय स्थापना गर्नुपर्ने सांसद केसीको भनाई थियो ।

यसैगरी हालैको पहिरोबाट प्रभावित र जोखिममा रहेका बस्तिमा थप जोखिमको अध्ययन गरि बस्न योग्य भए नभएको पहिचानका लागि भूगर्भबिद् सहितको टोलीबाट अध्ययन गराउन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद केसीले पहिरो पिडितको पुनस्थापनाका लागि विशेष किसिमको योजना ल्याउन माग गर्दै ऐन संसोधन गरेर भएपनि पहिरो तथा बाढीमा वेपत्ता भएकाको परिवारलाई मृतक सरहको राहत रकम उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोबाट पछिल्लो एक महिनामा ३१ जनाको मृत्यु, ४ जना वेपत्ता र करिब एक हजार घरपरिवार विस्थापित भएका छन् । सडक, विद्युत, पुल, खानेपानी, सिचाई, विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक सम्पतिमा ठूलो क्षति पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: