अनियमित विद्युत आपुर्तिका कारण हैरानी

बेनी, २३ साउन । अनियमित विद्युत आपुर्तिको समस्याका कारण म्याग्दीबासी हैरान भएका छन् ।

पुर्व जानकारी बिनै छिन छिनमा विद्युत आपुर्ति बन्द हुदा घरायसी काम देखि सार्वजनिक सेवा प्रवाह र उद्योग ब्यवसायमा असर परेको छ । पछिल्लो पटक विद्युत आपुर्ति अनियमित हुने समस्या बढेपछि म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबार समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ ।

म्याग्दीको जनजिवन, उद्योग ब्यवसाय र सार्वजनिक सेवा प्रवाहमा असर गरेको विद्युत आपुर्ति अनियमित हुने समस्या समाधानका लागि संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वमा गएको टोलीले प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतलाई ज्ञापनपत्र बुझाएको हो ।

विद्युत आपुर्ति अनियमितताको समस्या समाधान गर्न तत्काल पहल नभए कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्ने संघले चेतावनी दिएको छ । केन्द्रका प्रमुख महतले मोदीदेखि ३३ केभी क्षमताको कुश्मा, बागलुङ्ग, मिलनचोक र घराप सबस्टेशनको लाइन एउटै भएको, ११ केभीको वितरण लाइनको दुरि मापदण्ड भन्दा दोब्बर, तेब्बर बढी भएकाले कुनै एक ठाउँमा समस्या आउँदा सबै ठाउँमा विद्युत आपुर्ति बन्द हुने समस्या रहेको बताउनुभयो ।

बर्खायाममा पहिरो र रुख लडेर विद्युतको मुख्य तथा वितरण लाइनमा असर पुगेको, कम जनशक्ति र भौगोलिक विकटताका कारण समयमै मर्मत गर्न समस्या भएको महतले बताउनुभयो । म्याग्दीमा विद्युत आपुर्तिको समस्या समाधानका लागि प्रत्येक सब स्टेशनका लागि फरक फरक फिडर बनाउने र वितरण लाइनको दुरि घटाउन दरवाङ्गमा सबस्टेशन बनाउन लागिएको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: