ताकमबाट गर्भवतिलाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगियो

बेनी, २२ साउन ः म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमकी एक गर्भवतिको बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको एयर लिफ्टीङ कार्यक्रम अन्तरगत ताकमकी २३ वर्षीय फुलमाया सुनारलाई हेलिकप्टरबाट पोखरा लगिएको हो ।

प्रभु एयरको हेलिकप्टरबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर भर्ना गरिएको सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

खबर पाएको २० मिनेटमै उद्धार गरेर अस्पताल पु¥याएको उहाँले बताउनुभयो । ताकम स्वास्थ्य चौकीले सुनारलाई पोखरा रिफर गरेको थियो । शल्यक्रिया गर्नुपर्ने भएपछि रिफर गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले यातायातको असुबिधा, भौगोलिक बिकटता र कमजोर आर्थिक अवस्थाका कारण सुनारलाई अस्पताल पुग्न समस्या भएपछि गाउपालिका मार्फत सामाजिक विकास मन्त्रालयमा खबर गरिएको थियो ।

बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा जानुभएकी प्रतिनिधिसभा सदस्य तथा पुर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, गाउपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्यालले हेलिकप्टर मार्फत उद्दारका लागि पहल गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अप्ठ्यारो अवस्थामा रहेका गर्भवतिको हेलिकप्टर मार्फत उद्दार गर्न एयरलिफ्ट कार्यक्रम सञ्चालन गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: