मराङ जोड्ने पैदलमार्ग मर्मत

बेनी, २० साउन । पहिरोबाट अति प्रभावित म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङ जोड्ने पैदलमार्ग मर्मत भएको छ । मराङको डाफे युवा क्लवको अगुवाइमा पैदलमार्ग मर्मत गरेर खच्चर हिड्न मिल्ने बनाएका हुन् ।

गत असार २५, २६ गते र त्यसपछिको निरन्तरको पहिरोका कारण भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने मराङ सडक यातायातबाट बिच्छेद भएको थियो । पैदलमार्ग समेत भत्किएको र पहिरोले बगाएकाले मराङ र मल्कवाङमा आवत जावत प्रभावित भएको थियो ।

मालिका गाउपालिका–७ बिमको खारा देखि दुले, अर्गला, नौलिस्ने हुदै कुम्रि जोड्ने पैदलमार्ग मर्मत गरिएको डाफे युवा क्लवका जित गर्बुजाले जानकारी दिनुभयो । अर्गला हुदै बेशी जोड्ने सडकमा निरन्तर पहिरो खसिरहने तथा मराङखोलाले कटान गरेको छ ।

बर्खा र पहिरो रोकिएपछि मात्र सडक खुलाउन सकिने अवस्था छ । सडक खनिएको ठाउँबाट घोरेटोबाटो बनाउन समेत सम्भव नभएपछि अर्गला देखि नौलिस्ने हुदै कुम्रि–दमका जोड्ने पुरानो घोरेटो बाटो मर्मत गरेर सञ्चालन गरिएको गर्बुजाले बताउनुभयो ।

प्रतिदिन १५ देखि २० जनाको दरले युवाहरुलाई परिचालन गरेर पैदलमार्ग मर्मत गरेका हुन् । ७ दिन लगाएर पैदलमार्ग बनाएको क्लवले जनाएको छ । मंगलबार पैदलमार्ग मर्मतको काम सकिएको हो ।

पहिरोले भत्काएको ठाउँमा बैकल्पिक पैदलमार्ग बनाउने, सिढी चिन्ने र फराकीलो बनाएर मर्मत गरिएको हो । बाउसो, गैची, गल, घन, बेल्चा लगायत घरेलु औजार प्रयोग गरेर पैदमार्ग मर्मत गरेका हुन् ।

पैदलमार्ग मर्मत भएपछि दरवाङ बिम हुदै मराङ मल्कवाङ सम्म खच्चर पुग्न सक्ने मराङका वडा अध्यक्ष राजाराज सुवेदीले बताउनुभयो । पहिरो प्रभावितलाई खाद्यान्न, निर्माण सामग्री, औषधी र राहत सामग्री ढुवानी गर्न सहज हुने उहाले बताउनुभयो । बिरामीलाई अस्पताल पु¥याउन पनि सहज भएको छ ।

पैदलमार्ग अवरुद्ध हुदाँ मराङ, मल्कवाङ र कुइनेमंगलेका करिब एक हजार घरधुरी प्रभावित भएका थिए । पहिरो पिडितलाई राहत सामग्री ढुवानी गर्न र बिरामीलाई अस्पताल लैजान महँगो रकम खर्चेर हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

पहिरोबाट अति प्रभावित बस्ति जोड्ने सडक र पैदलमार्ग खुलाउन जिल्ला समन्वय समितिले धवलागिरी र मालिका गाउपालिकालाई ३०÷३० लाख रुपैयाँ उपलब्ध गराएको छ । दरवाङ देखि धवलागिरी गाउपालिकाको धारापानी र ताकम सम्म जोड्ने सडक मर्मत गरेर सूचारु भएको छ ।
ताकम–मुना खण्डमा पनि मर्मतको काम भैरहेको इञ्जिनियर सोविन जिसीले बताउनुभयो । दरवाङ देखि बिमको खारा जोड्ने सडक पनि मर्मत भएको छ । इल्पु देखि बिम जोड्ने पैदलमार्ग मर्मत भएको छ ।

धवलागिरी गाउपालिका–६ मराङका १९, मालिका–७ बिमका ८, रघुगंगा–६ का २ र अन्नपूर्ण–३ का १ जनाको पहिरो र बाढीले बगाएर मृत्यु भएको छ । मराङका २, बिम, मालिका–६ दुखु र अन्नपूर्ण–३ काभ्रेका १ जना अझै वेपत्ता छन् ।

मराङमा २३ घर पहिरोले बगाएको र २२६ घर जोखिममा रहेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । बिमका वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । ५० घर उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: