पहिरो पिडितको पुनस्थापना र क्षतिग्रस्त संरचना पुननिर्माणको विषयमा प्रधानमन्त्री ओली र म्याग्दीका सांसद थापाबिच छलफल

 

बेनी, १८ साउन ः म्याग्दीका पहिरो पिडितको पुनस्थापनाका लागि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको छ ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपाका नेता प्रमोद श्रेष्ठले बालुवाटार स्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग पहिरोबाट विस्थापितको पुनस्थापना र क्षतिग्रस्त संरचनाको पुननिर्माणका विषयमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री ओली र विषयगत मन्त्रालयका मन्त्रीलाई भेटेर पहिरोले पु¥याएको क्षतिको जानकारी गराउनुका साथै पुनस्थापना र पुननिर्माणका लागि आवश्यक बजेट तथा योजनाको माग गरेको सांसद थापाले बताउनुभयो ।

उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, भौतिक योजना मन्त्री बसन्त नेम्बाङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेष त्रिपाठीलाई पनि भेटेर छलफल गरेको उहाँले बताउनुभयो ।

सांसद थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिरो पिडितको पुनस्थापना र क्षति पुगेका भौतिक संरचनाको पुननिर्माण गरि जनजिवनलाई सहज बनाउन सम्बद्ध मन्त्रालय मार्फत प्राथमिकताका साथ योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने प्रतिवद्धता जनाउनुभएको थियो ।

पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउपालिकामा ३१ जनाको मृत्यु तथा ४ जना वेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन् ।

असार २६ गतेयताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम लगायत ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको छ । वडा कार्यालय, विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक, सिचाई, पैदलमार्गमा पहिरोले क्षति गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: