विद्युत प्रशारण लाइनको टावर ढल्यो

बेनी, १ साउन ः पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दाना देखि पर्वतको कुश्मा नगरपालिकाको खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढलेको छ ।

नेपाल विद्युत प्राधिकरणद्धारा कालीगण्डकी कोरीडोर अन्तरगत सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउपालिका–७ मिलनचोक स्थित टावर ढलेर क्षति पुगेको हो ।

धाइरिङको डिलबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका केदार रेग्मीले बताउनुभयो । गत सोमबार रातिको पहिरोले कुनातर्फ टावर पल्टीएको छ ।

कुनामा रहेको भिरमा पल्टीएकाले तार तानिसकिएको छ । प्रशारण लाइनको अन्य दुई वटा टावरमा पनि असर गरेको छ । नजिकै रहेको मिलनचोक–धाइरीङ सडक र बस्तिमा भने क्षति पुग्न पाएन् । रेग्मीका अनुसार टावर पल्टिदा करिब रु. चार करोड बराबरको क्षति पुगेको छ ।

टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोटिर दुरिको दाना–खुर्कोट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

११४ वटा मध्य पोखरेबगरमा दुई वटा बाहेक सबै ठाउँमा टावर ठडाएर तार समेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले बताउनुभयो । रु. दुई अर्ब ९० करोड मा ठेक्का सम्झौता भएको आयोजना अन्तरगत दाना र खुर्कोटको सबस्टेशन समेत अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

दोस्रो चरणमा खुर्कोट देखि नवलपरासी जोड्ने प्रशारण लाइन र सबस्टेशन समेत निर्माण सुरु भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: