छ महिनाकी गर्भवति सहित १२ जना घाइतेको हेलिकप्टर बाट उद्दार

बेनी, २७ असार ः म्याग्दीको धवलागिरी गाउपालिका–७ मराङ र मालिका गाउपालिका–७ बिमको पहिरोमा घाइते भएका ११ जनाको हेलिकप्टर मार्फत शनिबार उद्दार भएको छ ।

मराङकी एक जना गर्भवति सहित १० जना र बिमका १ जनाको उद्दार गरेर बेनी ल्याइएको हो । नेपाली सेना र प्रभु एयरको हेलिकप्टरले उद्धार गरेका थिए । शुक्रबार बिहान गएको पहिरोमा घाइते भएका उनिहरुको करिब ३६ घण्टापछि उद्धार भएको हो ।

प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार उद्धार गरिएका मध्य चार जनालाई हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको र ७ जनाको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

छ महिनाकी गर्भवति २२ वर्षीया मञ्जिता श्रीपाली, मालिका–७ बिमका ४० वर्षीय पुर्ण परियार, धवलागिरी–६ राम्चेका ७ वर्षीय सफल श्रीपाली र ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ । धवलागिरी–६ का बालसिंह रोकालाई काठमाडौ लगिएको छ ।

राम्चेकी गौमति सुनार, रिखका धनबहादुर जुग्जाली, २२ वर्षीय दिपक श्रीपाली, ३५ वर्षीय कुशल पुन, १२ वर्षका अंकित पुन, १५ वर्षका बिर्सना जुग्जाली र ताकमका ७३ वर्षीय हरिबहादुर बिटालुको बेनीमै उपचार भैरहेको छ ।

भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने पहिरो प्रभावित ठाउँमा सडक र घोरेटोबाटो बगाएकाले पैदल तथा गाडी मार्फत शुक्रबार सुरक्षाकर्मी पुग्न सकेनन् । दुई पटक गएको हेलिकप्टर समेत खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको थियो ।

शनिबार बिहानै देखि पहिरोमा वेपत्ता भएकाको खोजी र घाइतेहरुको उद्दारमा सेना, शसस्त्र र नेपाल प्रहरीको टोली परिचालन भएको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो । बेनी र छिमेकी गाउँबाट युवाहरुको स्वयमसेवक टोली समेत परिचालन भएका छन् ।

पहिरो पिडितहरुलाई ५० बोरा चामल, ८४ कार्टुन चाउचाउ, ८० कार्टुन तेल, दुई बोरा दाल सहित तेल, मसला सहितको खाद्यान्न राहत हेलिकप्टर मार्फत लगिएको छ । राहत र व्यवस्थापनलाई सहज बनाउन सडक र घोरेटोबाट मर्मत गरिने धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

पहिरोमा परि वेपत्ता भएका २७ जनाको शव भेटिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: