भू तथा जलाधार व्यवस्थापन कार्यालयद्धारा बिरुवा वितरण सुरु

बेनी, ११ असार । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगत सम्पर्क इकाई म्याग्दीले कृषकहरुलाई फलफुल र घाँसका बिरुवा वितरण सुरु गरेको छ ।

पहिरो र भू–क्षय रोकथामका साथै फलफुल खेतिको प्रर्वद्धन र पशुपालनका लागि आहरा आपुर्तिलाई सहज बनाउन बिरुवा उत्पादन गरि वितरण गर्न थालेको हो । बेनी र आसपासका कृषकलाई मंगलाघाट स्थित कार्यालयको नर्सरीबाट बिरुवा वितरण भैरहेको सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो ।

गाउपालिकाका लागि पाँच÷पाँच हजार बिरुवा केन्द्रसम्म ढुवानी गरि पालिकासँग समन्वय गरेर वितरणको ब्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो । कार्यालयले ९० हजार र बेनी नगरपालिकाले १५ हजार गरि एक लाख पाँच हजार बिरुवा उत्पादन गरिएको छ ।

५० हजार बिरुवा राइखन्यु प्रजातिको घाँसको छ । यसैगरी निमारो, इपिल इपिल, बयस, चाँप, कल्कीफुल, भटमासे, मेण्डोला, क्यासासिकिया, लप्सी, किमकाफल, सिसौ, धुपी लगायत २२ प्रजातिका बिरुवा उत्पादन भएको छ ।

सुन्तला जात फलफूल र टिम्मुरका बिरुवा पनि उत्पादन भएको छ । ब्यवसायिक पशुपालक कृषकहरुलाई लक्षित गरेर बिरुवा बितरण गरिने मिश्रले बताउनुभयो । बाख्रा, गाइभैसी पालन गर्ने कृषकहरुका लागि आहरा आपुर्ति गर्न घाँस खेति विस्तारको आवश्यकता हुन्छ ।

दाना र किनेको घाँसको तुलनामा सस्तो, पोषिलो र हरियाली प्रर्वद्धनमा सहयोग पुग्ने भएकाले घाँस खेति गरेको बेनपा ६ की कृषक नरमाया खत्रीले बताउनुभयो । डम्मराकी कृषक दिपा खत्रीले छिटो बढ्ने भएकाले राइखन्यु जातको घाँसका बिरुवा लगाएको बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बिरुवा वितरण सुरु गर्नुभएको थियो । मनसुनको सुरुवातको समय बिरुवा रोप्नका लागि उपयुक्त मानिन्छ ।

सडक छेउछाउ र भिरालो पाखोमा घाँसका बिरुवा लगाउँदा पहिरो तथा भू–क्षय रोकथाममा समेत सहयोग पुग्ने सहायक भुसंरक्षण अधिकृत मिश्रले बताउनुभयो । बेनी नगरपालिकाले सडक छेउछाउमा घाँसका बिरुवा रोप्ने नीति लिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: