कृषकहरु रोपाइमा व्यस्त

बाबियाचौर, २८ जेठ ः फैलिदो कोरोना (भाइरस) को जोखिमका बीच हिमाली जिल्ला म्याग्दीका कृषकहरुले बर्खेबाली धान र कोदो रोपाई सुरु गरेका छन् ।

७८ दिन पुगेको लकडाउनले कृषकको दिनचर्यामा असर पारेको छैन् । माथिल्लो र सिचाई सुबिधा भएका ठाउँमा कृषकहरुले खेतमा धान रोपाई सुरु गरेका छन् । धवलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउपालिका र बेनी नगरपालिको माथिल्लो क्षेत्रमा धान र कोदो रोपाई सुरु भएको हो ।

नियमित बर्षा र पानीको सुबिधा भएपछि रोपाई गर्न थालेको मंगला गाउपालिका–५ छिसवाङका कृषक छेमबहादुर पुनले बताउनुभयो । ‘‘कोरोनाको डर भएपनि भौतिक दुरि र स्वास्थ्य सतर्कता अपनाएर रोपाइ गर्न थालेका छौ,’’ उहाले भन्नुभयो ‘‘छिमेकमा अर्म–पर्म गरेर रोपाइ गरेका छौ । पानी परिरहेकाले सजिलो भएको छ ।’’

छिसवाङ, पिपलबोट, खोप्टी, पिपलबोट, सेराफाँट म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हो । गहुँ छरेको र हिउदे बाली नलगाएको खेतमा जेठको अन्तिम साताबाट रोपाई गर्छन् । जेठमा ढिला पाक्ने जातको धान रोप्छन् । मकै लगाएको खेतमा भने असारको अन्तिमतिर रोपाइ हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

गौरीया, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने तथ्याङ्क छ । उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेति हुन्छ ।

विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र ब्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएका हरु लकडाउनपछि गाउँ फर्किएका छन् ।

परिवारका सबै सदस्य घरमै भएकाले खेतीबाली लगाउन सजिलो भएको मंगला–५ पिपलबोटका डिलबहादुर विकले बताउनुभयो । ‘‘कोरोनाले गर्दा यसपालि खेतीबाली लगाउन खेताला खोज्न परेको छैन,’ उनले भने ‘काम गर्ने मान्छे घरमै छन् ।’’

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिटिलर हलो, ट्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गह भएका र फाँटका खेतमा बाझो जात्ने देखि रोपाई गर्न ट्याक्टर र मिनिटिलर प्रयोग गरेका छन् ।

गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने छिसवाङका कृषक हेमबहादुर पुनले बताउनुभयो । लकडाउनको फुर्सदलाई सदुपयोग गरेर कतिपय कृषकहरुले बर्षौदेखि बाझिएको खेतबारीमा झाडी फाडेर खाद्यान्न, दलहन र फलफुल खेति सुरु गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: