वारीबेनीका युवाहरु सार्वजनिक शौचालय निर्माणका लागि श्रमदानमा जुटे

बेनी, २२ जेठ । कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण फुर्सदीला बनेका जलजला गाउपालिकाको वारीबेनीका युवाहरु श्रमदानमा जुटेका छन् ।

वारीबेनीको नवउत्साही समूहको नेतृत्वमा जुगेधाराको खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न युवाहरुले श्रमदान गरिरहेका हुन् । युवाहरुले श्रमदान गरेर सार्वजनिक शौचालयको खाडल खनेर पर्खाल निर्माण भएको छ ।

समूहमा आवद्ध युवाहरुलाई सामाजिक दुरि कायम गरि सुरक्षा सावधानी अपनाएर शौचालय निर्माणमा परिचालन गरिएको अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । चार दिनका दरले श्रमदान गरिसकेका छन् ।

दैनिक १५ जना युवाहरु श्रमदानमा सहभागि भएका छन् । लकडाउनको फुर्सदको सदुपयोग, रचनात्मक कार्य र सामाजिक आवश्यकता पुरा हुने भएकाले शौचालय बनाउन श्रमदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शौचालय निर्माणका लागि पर्वत क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा दुई लाख रुपैयाँ बिनियोजन भएको छ । सो बजेटबाट सिमेन्ट, प्यान, पाइप लगायत निर्माण सामग्रीका साथै ढुवानी गरिने समूहले जनाएको छ ।

खाडल खन्ने, पर्खाल लगाउने, भवन बनाउने लगायतका काममा युवाहरुले श्रमदान सुरु गरेका हुन् । स्थानीयबासी तथा युवाहरुको पहलमा नदी किनारको सार्वजनिक बगर र पाखो सम्माएर खेलमैदान बनाइएको छ । कालीगण्डकी किनारमा निर्माण भएको खेलमैदानलाई सुरक्षित बनाउन नदी नियन्त्रण योजना माग गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: