मराङको पर्यटकीय स्थल हलल चौर जोड्ने पदमार्ग निर्माण सुरु

दिपक शर्मा
मराङ, २२ जेठ । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको पर्यटकीय सम्भावनायुक्त ठाउँ ठला धुरि (हलल चौर) जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।

धवलागिरी गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत युवाहरुलाई परिचालन गरेर राम्चे गाउँदेखि हलल चौर जोड्ने पदमार्ग निर्माण सुरु गरेको हो । पदमार्ग निर्माणमा ३० जनालाई परिचालन गरिएको छ । १३ दिनसम्म काम गरिने जनाइएको छ ।

कोरोना (भाइरस)को जोखिमका बीच लकडाउनको परिपालना गरि सामाजिक दुरि कायम गरेर आयोजना सञ्चालन गरिएको मराङका अगुवा श्रीप्रसाद गर्बुजाले बताउनुभयो । पदमार्ग निर्माणमा तीन लाख रुपैयाँ बिनियोजन भएको छ ।

प्राकृतिक हिसाबले रमणीय र पर्यटकीय सम्भावना भएको हलल चौरको विकासका लागि पदमार्ग निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । लकडाउनको समयमा गाउँमै रोजगारि पाउँदा युवाहरुलाई राहत मिलेको छ ।

हलल चौरबाट धवलागिरि, माछापुच्छ्रे, गुर्जा लगायतका हिमाल, ग्रामिण बस्ति, पहाडी भूगोल र बनजंगलको अवलोकन गर्न सकिन्छ । करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित हलल चौरबाट धवलागिरी, मालिका र रघुगंगा गाउपालिकाको भूगोलका साथै सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

पदमार्ग पु¥याएपछि भ्यु टावर, वनभोज स्थल लगायतका पूर्वाधार निर्माण गरिने वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

मराङको बेशी–राम्चे–हललचौर–मलम्पार–मल्कवाङ–सिमकोश हुदै धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको समेत परिकल्पना गरिएको छ । मल्कवाङ हुदै मुस्ताङ जोड्ने पदमार्गको समेत सम्भावना छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: