भारतबाट आएका मंगलाका युवामा कोरोना संक्रमण

बेनी, २२ जेठ ः म्याग्दीका एक युवामा बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । मंगला गाउपालिका–४ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाब परिक्षणको बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजामा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको उल्लेख छ । भारतबाट उद्धार गरेर ल्याइएका उनि बेनी नगरपालिकाले न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा छन् ।

कोरोना पुष्टि भएपछि उनलाई खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेशनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताउनुभयो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि म्याग्दीमा गत बिहीबार मालिका गाउपालिका– ४ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि बेनी अस्पतालद्धारा सञ्चालित आइसोलेशनमा उपचार भैरहेको छ ।

म्याग्दीमा हालसम्म १५८ जनाको स्वाब नमुना संकलन गरिएकोमा १३० जनाको नतिजा आइसकेको छ । २८ जनाको नतिजा आउन बाँकी छ । बेनीको न्यु वेष्ट पोइन्ट, म्याग्दी बहुमुखी क्याम्पस, दरवाङको जनप्रिय, भुरुङ तातोपानीको सर्वोदय माविको क्वारेन्टिनमा भारतबाट उद्धार गरेर ल्याइएका १२२ जनालाई राखिएको छ ।

बिहीबार बिहान थप चार जनालाई भारतको सिमानाबाट उद्धार गरेर बेनी ल्याइएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ ।

आज बिहानको नतिजामा बागलुङको निसीखोला गाउपालिकाका एक महिला, दुई पुरुष, बडीगाड गाउपालिकाका चार पुरुष, गल्कोट नगरपालिकाका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माका अनुसार स्याङ्जाको कालीगण्डकी गाउपालिकाका एक जना पुरुष, पर्वतको बिहानी गाउपालिकाको दुई जना पुरुष र फलेवास नगरपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनिहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेशनमा लैजाने तयारी भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: