‘ खोटो शिक्षा छोटो समीक्षा ’

मनोहर पौडेल
विज्ञ विशेषज्ञहरुका सामु एक साधारण व्यक्तिको अभिव्यक्ति अध्ययन गरिनेछ भन्ने कुरामा ढुक्क नभएपनि प्रस्तुत गर्न अनुमति माग्दछु । सिद्धान्त, ऐन कानून, नीतिनियम तिथिमितिमा विज्ञहरु जानकार हुनुहुन्छ । मैले केही व्यवहारिक अनुभव शेयर गर्न चाहन्छु । कुनै कित्तामा नउभ्याइकन पढिदिनुभए आभारी हुने थिएँ ।
पृष्ठभूमि ः–
सरकार ढाल्ने र ठड्याउने खेलले आजित भएर पनि अझै संलग्न रहनु र नचेत्नु विडम्बना नै हो । अस्थिर प्रवृतिले देश कहिल्यै उठ्ने छैन । स्वच्छ आलोचना , सुझावबाट सही बाटोमा डो¥याउँदै , यो सरकारका खुट्टी हेर्दै आफ्ना खुट्टी उचाल्ने पालो पर्खिनु नै उत्तम हुन्छ । सरकार असक्षम बनेकै हो त ? हेर्न अझै बाँकी छ । यदि बनेको हो भने दुई कारणले हो – (१) परम्परागत कार्यशैलीमा लटपटिएर परिवर्तनको आभास दिलाउन नसक्नु, (२) बर्षौं देखि उफ्रँदै आएका भूतप्रेत थला पर्नु तर नयाँ पिशाच जन्मनु ।
अहिलेको सरकारलाई प्रवृत्ति र प्रकृति दुबैले चुनौति थपेका छन् । वर्षौ देखि थुप्रिएको फोहरको ढुङ्गुरको व्यवस्थापन गर्नु कडा चुनौति छ नै । संघीय व्यवस्थापन, विधिप्रकृया, कानून निर्माणले पनि समय लिएकै हो तरपनि अप्ठ्यारोसँग जुध्न सकिँदैन, देश र जनताको मर्म बुझ्न सकिँदैन , बेथितिका खाडल पुर्न सकिदैन र समाजवाद तर्फ दगुर्न सकिदैन भने असफल सरकारको विल्ला भिर्न तयार भए हुन्छ ।
आजको मेरो विषय शिक्षा सम्बन्धि छ । वर्षौ देखि वेरोजगार उत्पादन गर्दै आएको शैक्षिक परम्परालाई जानकारी हुँदा हुँदै निरन्तरता दिनु एक किसिमको लाचारिपन नै हो । अस्थायी निकालेर स्थायी शिक्षक भर्ति गर्ने , दुई चार प्राविधिक विद्यालय खोल्ने , एक दुईवटा पाठ्यपुस्तक बदल्ने कामबाट शिक्षा क्षेत्र सप्रने ठानिएको छ कि के हो ? उद्देश्य मिट गर्न नसक्ने शिक्षा प्रणालिको के अर्थ ! उद्देश्य छ – स्वदेशको उन्नति र स्वरोजगार , उत्पादन गर्छ – विदेशिने बेरोजगार भीड ।
विज्ञहरुले चुरो कुरो नबुझेको हो कि बुझ पचाएको हो । के हो त समस्याको चुरो ? यो कस्तो पढ्नै मन नलाग्ने शिक्षा ! खै उत्प्रेरणा ? खै जाँगर ? आफ्नो भविष्य नदेखे पछि जबर्जस्ति पढाइ हुन्छ ? यही हो समाजवादी , सीप मूलक , जीवनोपयोगी शिक्षा ? खोजीमा गाँठ हुनेले डक्टर , इञ्जिनियर , पाइलट हुन पाउन,े नहुनेले नपाउने । यही हो समतामूलक शिक्षा ?

समस्या के हो ?
सरकार धमीरो लागेको ठुटोलाई ठोकठाक , ताछतुछ पारेर , टुँडो , फाली, अनौ फेरेर हलो बनाउन चाहन्छ । परम्परावादी शैलीबाट उम्कन सकेको छैन । खुट्टा कमाउँदै छ परिवर्तन गर्न ।
विद्यालय वेरोजगार उत्पादन गर्ने कारखाना बनेकाछन । विज्ञहरु समेत मक्किएको भवनमा रङ्रोगन गर्ने सुझाव दिन्छन । सरकारी र वोडिङ् स्कूलको जुहारी चलेकै छ । उचाल्ने र पछार्ने खेल चलेकै छ । सरोकारवाला तानातान र हानाहान मै व्यस्त छन् । सत्य चाहिँ के हो भने दुबै थरिका स्कूलमा सिकाइ हँुदैन , घोकाइ सम्म होला । सैद्धान्तिक ज्ञान होला व्यवहारिक परिवर्तन हुँदैन । दुवै थरि स्कूलका विद्यार्थी सर्टिफिकेट लिने , विदेश पस्ने र पैसामा फस्ने उद्देश्य राख्छन । यही हो हाम्रो देशको शिक्षाको राष्ट्रिय उद्देश्य ? मुठ्ठी भरका पैसावालले मात्र पढ्न पाउँछन डक्टर , पाइलट, इञ्जिनियर । यही हो शिक्षामा पहुँच । देश रित्याएर परदेशमा पसिना चुहाउन लाइ शिक्षा किन चाहियो ? खारेज गरे हुन्न ? विभेदकारी शिक्षा किन चाहियो यो विपन्न देशमा ? त्यसैले दुबै थरि विद्यालयको शैक्षिक यात्रा लक्ष्यहिन छ । तुलनात्मक रुपमा मीठो भाषा , राम्रा अक्षर लेख्ने , राम्रो ग्रेड ल्याउने बोडिङ अगाडि हुनु स्वभाविकै हो ।
कुनै पनि विद्यालयले कच्चा पदार्थ बोकेर सिप सिक्न , व्यवसाय सिक्न वा रोजगारी प्राप्तिकालागि विद्यालयमा प्राक्टिस गर्दैन । विद्यार्थी मन नलागी –नलागी जबर्जस्ति सिद्धान्त घोक्छ र सर्टिफिकेट हात पार्छ , सीप होइन । त्यसैले विद्यालयहरु बस्ती रित्याएर आफै खण्डहर बनेका छन् ।
शिक्षक पढाउन भन्दा बढी जागिर खान विद्यालय पुग्छ । आफुले सिकाउन नसकेकोमा , प्रतिफल नमिलेकोमा दिक्दार छ किनकि उसले सिकाएकाहरुको हातमा सीप छैन , बेरोजगार छन , विदेश ताक्छन , श्रम र पसिना बेच्छन । उपलब्धिहिन बरबराहटबाट शिक्षक थाकेको छ , निरास छ र कृत्रिम बनेको छ । बर्षौ देखि एउटै कुरा बारम्बार दोहो¥याउँदै कक्षा कोठामा फतफत्याइरहन्छ उ दिनको ६÷७ पिरियड सम्म । केटाकेटीलाई भुलाउँछ , अल्मल्याउँछ मात्र , सीप सिकाउँदैन । तलब पचाउन र टाउको बचाउन मात्र अभ्यस्त छ । म ताक्छु मुढो , बन्चरो ताक्छ घुँडो भएको छ उसलाई । कसैबाट जस पाउँदैन उ ।
तीन महिना कोठामा घोकेर रटेर तीन घण्टा कापीमा बान्ता गरेपछि योग्य र स्थायी शिक्षक हुन्छन यहाँ । अनुभव , सीप , तालिम, कक्षा अवलोकन , प्रयोगात्मक परीक्षा केही चाहिँदैन । जति कोचेर पढाए पनि , जति घोचेर पढाए पनि , नपढाए पनि उसको हड्डी नै योग्य छ , व्यवहार जस्तो भए पनि । वर्षौं बर्ष अनुभव सँगालेका शिक्षकहरु अस्थायी तथा अयोग्य ठहरिन्छन् । अनुभव विनाको सिकाइ हुन्छ ? सिकाइ के हो पढ्नुभएको छ नि ? सिकाइ अनुभवबाट व्यवहारमा आउने परिवर्तन हो । योग्यता निर्धारण गर्ने कार्यकुशलता सीप र व्यवहारले हो , सिद्धान्तले होइन ।
शिक्षक हक हितका नाममा बनेका संघ संगठनहरु शिक्षकको सम्मान भन्दा पनि एक पक्षले अर्को पक्षको मानमर्दन गर्न , राजनीति गर्न र पक्षगत अभिष्ट पूरा गर्न दत्तचित्त छन । शैक्षिक उपलब्धिसँग सरोकार नराख्ने राजनीतिका पिछलग्गु संघ संगठनहरु हुनुभन्दा नभएकै बेस ।
शिक्षा भनेको व्यवहारमा परिवर्तन हो , यो सिद्धान्त ज्ञान आत्मज्ञान मात्र होइन । कुन राजा कुन मितिमा जन्मे , कहिले विवाह गरे भन्ने घोकेर वा कुनै वस्तुको परिभाषा , अर्थ , महत्व , आवश्यकता , औचित्य , विशेषता बुझेर वा घोकेर शिक्षा आर्जन हुदैन । यो देशमा यस्तै शिक्षा चलिरहेको छ । यहाँ त्यस्तो मान्छे योग्य ठहरिन्छ जो कोठामा थुनिएर मगज खलबलिने गरी घोक्छ अनि परीक्षामा तीन घण्टा हुल्हुल्ती ओकल्छ कापीमा । विना सीप, विना अनुभव , विना कार्य कुशलता रित्तोहात नै शिक्षक बन्छ , कर्मचारी बन्छ , प्रोफेसर बन्छ अनि उसले अरुलाई व्यवहारिक सीप सिकाउन सक्छ ? अनुभव बाँड्न सक्छ ? सक्दैन । स्वदेशमै आफ्नो खुट्टामा उभिने शिक्षा खै ? जीवनोपयोगी शिक्षा खै ? एउटा मात्र उदाहरण – पहाडका खोल्सा खाल्सीमा रहेका बाँस घारी , निगाला घारी , जङगलका साल, सिसौ, सिर्मु र सल्लाका रुखहरु कुहेर सडेर खेर गइरहेका छन , तस्करी भइरहेका छन । तिनको उपयोग गरी कुर्ची ,टेबल, घाट, दराज , डोको डालो , टोकरी, आल्मारी आदि बनाउन निःशुल्क सिकाउने सर्वसाधारणको पहुँचमा एउटै मात्र विद्यालय नेपालमा छ ? छैन ।
कस्तो शिक्षा चाहिन्छ ?
आफ्नो माटो सुहाउँदो , आफ्नै देशमा पसिना चुहाउन मिल्ने शिक्षा चाहिन्छ । विदेश पसेर पसिना र जवानी बेच्दै जम्मा गरेको पैसाले सहरमा घर घडेरी बनाई सोफामा उपर्खुट्टी लाउँदै किसान र मजदुरलाई होच्याउने शिक्षा चाहिंदैन विद्यार्थीहरु कच्चा पदार्थ बोकेर स्कूल जाऊन , सीप सिकेर घर फर्कून । आफ्नै माटोलाई माया गर्न सिकुन । कृषि , पर्यटन , ऊर्जा सम्बन्धी शिक्षा चाहिन्छ । स्रोत साधनको उपयोग गरी व्यवसाय सञ्चालन गर्न सक्ने शिक्षा चाहिन्छ । नैतिक आचरण र अनुशासन सिकाउने शिक्षा चाहिन्छ ।
परम्परागत शैक्षिक प्रणाली खारेज गर्दै स्पष्ट नीतिनियम र उद्देश्यका साथ खुट्टा नकमाइकन चुनौतिको सामना गर्दै नयाँ शैक्षिक प्रणालीमा प्रवेश गर्न जरुरी छ । स्थानीय उत्पादन , स्रोत साधन र आवश्यकता अनुसार गाउँगाउँमा यस्ता विद्यालयहरु खोलियून जहाँ गरिब निमुखा सर्वसाधारणले समेत इच्छा अनुसारका इलम ,सीप , व्यवसाय , काम निःशुल्क सिक्न सकुन । कुशल , अनुभवि, तालिम प्राप्त , योग्य शिक्षक तथा अन्य सबै व्यवस्था सरकारले मिलाइदेओस । केही व्यवसाय तथा सीपहरु जस्तै ः –
1. माटो ढुङ्गा सिमेन्ट बालुवा सम्बन्धी ।
2. खनिज तथा धातु सम्बन्धी ।
3. अल्लो कपास बरुवा आदि कच्चा पदार्थ उत्पादन तथा कपडा बन्ने लुगा सिउने सम्बन्धी ।
4. जडिबुटी उत्पादन प्रशोधन , औषधी निर्माण सम्बन्धी ।
5. उखु ,चिया कफी, अलैची अदुवा आदि जस्ता बाली उत्पादन तथा तत्जन्य उद्योग व्यवसाय सम्बन्धी ।
6. दूध उत्पादन तथा दग्धजन्य व्यवसाय सम्बन्धी ।
7. मल बिउ विजन विरुवा उत्पादन सम्बन्धी ।
8. फलफूल उत्पादन भण्डारन तथा तत्जन्य व्यवसाय सम्बन्धी ।
9. तरकारी उत्पादन भण्डारन तथा तत्जन्य व्यवसाय सम्बन्धी ।
10. पर्यटन व्यवसाय सम्बन्धी ।
11. जल जङ्गल र जमिनको उपयोग सम्बन्धी ।
12. कृषिका नयाँ नयाँ विधि प्रविधि सम्बन्धी आदि ।
माथि उल्लेखित कुराहरुको सिकाइका साथै विद्यार्थीहरुले विद्यालय पुगेर असल आचरण ,अनुशासन , नैतिकता जस्ता गुणहरु सिक्दै त्यस अनुसारको व्यवहार गर्न सिकून । आफ्नै माटोमा रमाउन , माया गर्न र फलाउन फूलाउन सिकून । वातावरण सफा, स्वच्छ ,शान्त, निर्मल राख्न सिकून । सहयोग सद्भाव मानवता जस्ता गुणहरु सिकून ।
निश्कर्ष ः–
समाजवादी सीपमूलक जीवनोपयोगी शिक्षा अहिले सम्म नारामा मात्रा सिमित छ । कुनै परिवर्तनका संकेत देखिएका छैनन् । हातमा सीप , पाखुरामा विश्वास र मनमा राष्ट्रियता बोक्न सिकाउने शिक्षा चाहिएको छ । शिक्षामा आमूल परिवर्तनको खाँचो छ । कृषि र शिक्षा जोडिनु पर्छ । मेहनत र अनुशासनलाई प्रोत्साहित गर्नु पर्छ । स्वदेशमै कृषि पर्यटन ऊर्जा तथा अन्य व्यवसायमा रमाउने वातावरण तयार गर्नु पर्छ । स्रोत साधनको सदुपयोग गर्नु पर्छ । सीप सिकेर उत्पादन बढाउनु पर्छ ।
जलजला –४ पर्वत

1 thought on “‘ खोटो शिक्षा छोटो समीक्षा ’”

Leave a Reply

Scroll to Top
%d bloggers like this: