जस्तापाटाले चम्किए भकिम्लीबासीका घर

बेनी, ४ जेठ ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बस्तिलाई खरको छाना रहित बनाइएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)कै बीचमा खरका छाना विस्थापित गराएर जस्तापाटा राखिएको हो । बेनी नगरपालिकाको सत प्रतिशत अनुदानमा भकिम्लीका ६१ घरमा खरको छाना हटाएर जस्तापाटा राखिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

नगरपालिकाको रु. २० लाख २४ हजार अनुदानमा जस्तापाता खरिद गरेर छाना परिवर्तन गरिएको हो । छाना परिवर्तन गरिएका मध्य २१ घर एकल महिलाका हुन् । दुर्घटनाको जोखिम न्युनिकरण गर्न खरको छाना विस्थापित गराउने कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

“खरको छाना भएको घरमा आगोलागीको उच्च जोखिम हुन्छ,” उहाँले भन्नुभयो “बर्षेनी छाना परिवर्तन गरिरहनुपर्ने झञ्जट र पानी चुहिने लगायतका समस्या हुने भएकाले खरका छाना हटाउने कार्यक्रम ल्याएका हौ ।”

खरले छाएको छानाबाट बर्षायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगरबासिका घरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु. ७० लाख बिनियोजन गरेको छ । छाना फेर्नका लागि प्रतिव्यक्ति न्युनतम रु. २० हजार देखि रु. ५५ हजार सम्म अनुदान दिइएको छ ।

सदरमुकाम रहेको बेनी बजार बाहेक रत्नेचौर, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा पनि खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

बन्दाबन्दीकै बीचमा छाना परिवर्तनको काम चलिरहेको उहाँले बताउनुभयो । वडा मार्फत सकलन गरिएको विवरण अनुसार प्राबिधिकले स्थलगत अध्ययन गरि तयार पारेको लागत अनुमानको आधारमा अनुदान दिने कार्यबिधि बनाइएको छ ।

खरको छानो हटाएपछि सुरक्षित महशुस गरेको बेनी नगरपालिका–३ राखुका मोस्टबहादुर थापाले बताउनुभयो । खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने अवस्था हटेकोमा भकिम्लीको चिनाखेतकी जैकली पुनले खुसी व्यक्त गर्नुभयो । छाना हटाउने क्रममा जिर्ण बनेका घरहरुको मर्मत समेत गरिएको छ ।

भकिम्लीमा खरका छाना विस्थापित गर्ने लगायतका विकास आयोजनाको आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत छवीलाल सुवेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष पदम पुन, नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली लगायत प्राबिधिकहरुको टोलीले अनुगमन गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: