म्याग्दीको आर्थिक क्षेत्रमा कोरोनाले पारेको असर

सुबिन श्रेष्ठ
बेनी, ५ जेठ । कोरोना भाईरस (कोभिड–१९) ले गर्दा विश्व समुदाय, बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ । अझ यसले कति समय सम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन । कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था पनि झेल्नुपर्ने देखिदै छ ।

मानव सभ्यताको यो कठीन घडी सँग जुध्न अब हामी सबैमा साहस, धैर्यता र उच्च मनोवलका साथ कार्य गर्ने क्षमता बनाउनु छ । अब कोरनाले मर्ने की भोकले मर्ने ? मानिसको आर्थिक, सामाजिक अवस्था र उत्पादन जीवन बाँच्ने आधार सँग जोडीन्छ । जीवन बाँच्ने आधार भनेको भौतिक बस्तुहरुको उपभोगसँग जोडीन्छ । अबको दिनमा खानपान लगायतका खर्चमा मितव्ययीता अपनाउनु आवश्यक छ । कृषि उत्पादन लगायतका सबैप्रकारका स्थानिय उत्पादन बृद्धिमा ध्यानदिनु पर्छ । नत्र भोलीको दिनमा भोकमरीको अवस्था पनि आउन सक्छ । यसमा स्थानीय सरकारको बिशेष ध्यानपुग्नु आवश्यक छ ।
लकडाउन भएको आज ५६ दिन पुरा भैसकेको छ । सरकारले थप १५ दिन लकडाउन थपेको अवस्था छ । लकडाउनका कारण देशैभरका अधिकांस साना–मझौला–ठूला उद्योग, व्यापार व्यवसाय ठप्प छ । यसबाट हाम्रो म्याग्दी जिल्लाका उद्योगी व्यवसायी पनि मर्माहत बन्न पुगेका छौ । जिल्लाका सबै उद्योगी व्यवसायी भोलीको दिनमा व्यापार व्यवसाय संचालन गर्न सक्छौ की सक्दैनौ भनेर चिन्तित छौं । बैक व्याजदर कम हुनु पर्ने, सहुलियत व्याजदरमा पुन कर्जाको व्यवस्था र घर भाडा छुटको बिषयलाई लिएर अधिकांस व्यवसायीहरुले म्याग्दी उद्योग वाणिज्य संघको पहल रहोस् भनेर बारम्बार भनिरहेका छन् । वास्तवमा आफ्नो सदस्यहरुले यो संकटको समयमा आफ्नो छाता संघसंग गुहार माग्नु जायज पनि हो । हाम्रो व्यापार व्यवसाय लगायतका क्षेत्र रेमिट्यान्सबाट भित्रिने रकमले चलायमान बनाएको अवस्था थियो । साथै जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका कारण हाम्रा उद्योग, व्यापार, व्यवसाय चलायमान बनाउनमा सहयोग पुगेको थियो । जिल्लामा पर्यटन पूर्वाधार निर्माणमा स्थानीय सरकारले पनि चासो दिईरहेको अवस्था थियो भने निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाउदै गरेको अवस्था थियो । कोरोना महामारीको कारण पर्यटन क्षेत्र लामो समयसम्म थला पर्ने देखिएको छ । यसले योसंग सम्बन्धित उद्योग, व्यापार, व्यवसायमा ठूलो असर पु¥याउने देखिएको छ । विश्व बजारमा लाखौंको संख्यामा रोजगारी गुम्ने अवस्था सृजना हुदै छ । नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार १७२ राष्ट्रमा रोजगारीका लागि नेपालीहरु पुगेका छन् । रेमिट्यान्य भित्राउने अग्रणी जिल्लाको रुपमा हाम्रो जिल्ला पनि पर्छ । रेमिट्यान्स घट्दा भोली सामाजिक समस्या निम्तिने र आर्थिक क्षेत्र उद्योग, व्यापार, बैक, सहकारि, शिक्षा लगायतको क्षेत्रमा यसको सिधा असर पर्ने देखिन्छ । भोली रोजगारि गुमाएर फर्किने जनशक्तिलाई स्वरोजगार बनाई उत्पादन मुलक कृषि लगायतका स्थानीय उत्पादनका क्षेत्रमा लगाउने वातावरणको लागि तिनै तहको सरकार र निजी क्षेत्रको तयारी अहिल्यै देखि हुनु आवश्यक छ । स्थानीय सरकार, उद्योग वाणिज्य संघ र सरोकारवाला पक्ष सबैमा सहकार्य हुनु अत्यन्त आवश्यक छ ।
म्याग्दी जिल्लामा हामीसंग अन्दाजी २५५–३०५ व्यवसायीहरु अत्यन्तै सानो पूँजी लगानी गरी व्यवसाय संचालन गरेका छन । रोजगारी प्राप्त नहनु, बैदेशिक रोजगारीमा जाने वातावरण नमिल्नु आदी कारणले आफ्नो र परिवारको जिवन गुजारा गर्न बाध्यताले व्यवसायमा हात हालेको अवस्था छ । अब यो लकडाउन थप हुदै जाने हो भने व्यवसायीहरु धरासायी हुने अवस्थामा छ । साना व्यवसायी हरुका ेअवस्था साह्रै दयनिय छ । यिनीहरुलाई पुनः व्यवसाय संचालन गर्न सक्ने बनाउन सरकारबाट सहुलियत ब्याजदरमा ३–४ बर्षमा किस्तामा तिर्ने गरी ऋण उपलब्ध हुने व्यवस्था गर्नु आवश्यक छ । यदी यी व्यवसायीहरु आफै स्वरोजगार बन्ने अवस्था रहेन भने बेरोजगारको संख्या थपिनेछ र यसले स्वयं राज्यलाई गाह्रो बनाउने छ । अन्य जिल्लाको अवस्था पनि करीब–करीब यस्तै हो । यसमा स्थानीय सरकारको पनि ध्यान पुग्नु आवश्यक छ ।
कोरोना भाईरस महामारी अन्त्य हुन लामो समय लाग्न सक्ने चेतावनी स्वास्थकर्मीहरुले दिईरहेका छन् । हाम्रो अर्थतन्त्रले पनि यो लकडाउनलाई कति समयसम्म थाम्न सक्छ ? हामी उद्योगी व्यवसायीहरुले पनि आफ्नो कर्म अझ कति दिनसम्म बन्द गर्न सक्छौ ? अन्य राष्ट्रहरुले यो संकटमा कस्तो खालको राहत सुबिधा र सुरक्षा बिधि प्रयोग गरी अर्थतन्त्र चलायमान बनाउदै छन । यो बिषयमा सरकारले अध्ययन गरी कोरोना संक्रमित नदेखिएको जिल्लामा क्रमिक रुपमा बिस्तारै स्वास्थ्य सुरक्षा विधि अपनाई बजार खोल्नु पर्छ ।
अब कोरोना कहरबाट अत्तालिएर, डराएर मात्रै हुदैन । सुरुको अवस्थामा सरकार र जनता हामी सबैले गम्भिर रुपमा लिएनौ । राजनीतिक खिचातानी तथा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएका ढिलाई र कमी कमजोरीका कारण एक ढिक्का भएर हाम्रो पुरा ध्यान संक्रमण न्यूनीकरणमा पुगेन् । तर अब गल्ती कमजोरीबाट शिक्षा लिई संक्रमण न्यूनीकरण गर्न बढी भन्दा बढी टेष्टगर्ने, क्वारेन्टाईन, आईसोलेसनको क्षमता बृद्धि गर्ने र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री प्रयाप्त मात्रामा उपलब्ध गराउने लगायतका स्वास्थ्य सम्बन्धी कार्य गर्नु पर्दछ ।
हामी उद्योगी व्यवसायी र बैक बिच नङ–मासुको संम्बन्ध हुनु पर्नेमा पछिल्लो समय अलि बढी तिक्तताको महशुस भैरहेको छ । कतिपय हामी व्यवसायीहरुको पनि बैकमा लगानी छ । अर्थतन्त्र चलायमान गराउन सबै प्रकारको उद्योग व्यवसाय, बैंक र आर्थिक क्रियाकलाप गर्नेसबै क्षेत्र बाँच्नु पर्छ । हामी सबैको ध्यान सबै प्रकारको आर्थिक क्रियाकलाप गर्ने पक्षहरू बाँच्ने र बचाउनेमा हुनु पर्छ । यो संकटको समयमा सरकारले पनि करका दरमा केही कमी गर्ने र बैंकहरुले पनि लाभांसका दर केही घटाउने गरी कार्य गर्नु पर्छ । अनि मात्र अर्थतन्त्रको चक्र चल्छ । सबै प्रकारको आर्थिक क्रियाकलाप भए बैक चल्ने हो । सरकारको ढुकुटीमा राजश्व संकलन हुने हो र त्यसबाट आम जनता लाभान्वित हुने हो ।
यो महासंकटमा हामी उद्योगी व्यवसायीलाई नगद अनुदान चाँहिदैन । सर्वसुलभ ढंगले हाम्रो व्यवसायलाई आगामी दिनमा निरन्तरता दिनसकिने गरी सुलभ र सरल कर्जा व्यवस्थापनको संबोधन अब आउने बजेटले गरोस । सबै क्षेत्रको अभिभावकको भूमिका सरकारले निभाओस् ।
यो संकटपूर्ण अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने मजदुर र सडक व्यापार गर्नेहरु साह्रै मर्कामा छन् । यो वर्गले सरकारबाट राहत प्याकेजको आशा गर्नु स्वभाविक हो । जनतालाई भोकै मर्न सरकारले दिनु भएन् । संक्रमण नदेखिएको जिल्लाहरुमा विकास निर्माणका काम सृजना गर्ने, यसले रोजगारी सृजना गर्छ, व्यवसाय चलाय मान गराउछ ।
तर लकडाउन लम्बिदै जाने हो भने यसले सबै पक्षलाई अप्ठेरोमा पार्नेछ । हाम्रो चिन्ता भनेको व्यवसायलाई कसरी जिवन्त राख्न सकिन्छ भन्ने हो । अब आउने दिनमा जिल्लामा भित्रिने रेमिट्यान्स स्रोत, पर्यटन र यससंग संम्बन्धित व्यवसायमा ठूलो असर देखिदै छ । हामीले यसको पूर्ति कसरी गर्न सक्छौं । यो बिषयमा स्थानीय र प्रदेश सरकारले आउदा बर्षको बजेट निर्माणमा ध्यान पुर्याउनु आवश्यक छ ।
लेखक म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: