बेनीमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान

बेनी, २४ वैशाख ः बेनी बजारमा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान चलाइएको छ ।

डेङ्गुका बिरामी भेटिन थालेपछि सदरमुकाम स्थित म्याग्दीको बेनी नगरपालिकाको वडा न. ८ वडा कार्यालयले लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएको हो । बेनी–८ वडा कार्यालयले बुधबार सरोकारवालाहरुको लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारेको छ ।

वडा अध्यक्ष रामकृष्ण बराइलीले औषधी पहिचान भइनसकेको डेङ्गु फैलिन र कोरोना भित्र्न नदिन संग संगै रणनीति बनाएर कार्यान्वयनमा लगिएको बताउनुभयो । पहिलो चरणमा लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने काम सुरु गरिएको बताउनुभयो ।

टोल सुधार समितिलाई परिचालन गरेर गमला, ड्रममा पनि पानी जम्न नदिने, ढकनी लगाउन लगाउने गरिएको वडा अध्यक्ष बराइलीले बताउनुभयो । बजारबासीका साथै आवश्यक परेमा सेना र प्रहरीको समेत सहयोग लिने उहाँले बताउनुभयो ।

वडा सचिव तेजकुमारी थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजिकरण गर्नुभएको थियो । यसअघि मंगलबार वडा न. ७ का सरोकारवालाहरुलाई डेङ्गुको कारण र बच्ने उपायका विषयमा अभिमुखीकरण गरिएको थियो ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको औषधी बनि नसकेकाले टोकाइबाट बच्न लामखुट्टे बस्ने ठाउँलाई नष्ट गरेर सरफाई गर्नुनै उपयुक्त विकल्प हो । पछिल्लो एक हप्तायता बेनी अस्पतालमा आएका घतान, छाप र भिरमुनीका तीन जनामा डेङ्गु भेटिएको छ ।

विश्वब्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसले जनजिवन त्रसित बनाइरहेका बेला म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुले विष्लेषण गरेका छन् । ५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।

टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: