म्याग्दीमा डेङ्गुको जोखिम

म्याग्दी, २२ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोगको जोखिम बढेको छ । पछिल्लो ५ दिन यता जिल्लामा तीन जना डेङ्गुका बिरामी भेटिएका छन् ।

ग्रामिण क्षेत्रबाट आएका बिरामीहरुमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु भेटिएको अस्पतालका मेडिकल कोअर्डीनेटर डाक्टर नवराज बस्ताकोटीले बताउनुभयो । बिरामी बाहिरी जिल्लाबाट नआएर यही बस्दै आएका हुन् । यही बस्दै आएकाहरुमा डेङ्गु देखिनुले जोखिम बढाएको छ ।

वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घई बेनी–५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि बैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो ।

वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ । अरु निको भएर घर फर्कीएका छन् । डेङ्गु भेटिएका बिरामी गाउँमै खेतिकिसानी र घासँ दाउरा गर्ने व्यक्तिहरु हुन् ।

म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुको विष्लेषण छ । गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।

बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क, पारीबेनी र भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट वर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु संक्रमितको ज्यान समेत गएको थियो ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।

टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ ।

बर्खा सुरु नहुदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

बेनी नगरपालिकाले सोमबारदेखिनै लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु गरेको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: