तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण

सेते तिलीजा पुन
शिख, २० वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिखमा बन्दाबन्दीकै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो ।

वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिनुभयो ।

“यही भएको डोजर र मजदुरलाई सामाजिक दुरि कायम गरेर सतर्कता अपनाएर सडक खनेका हौ,” उहाँले भन्नुभयो “विकास पनि भयो, मजदुरहरुले रोजगारी पनि पाए ।” २.५ किलोमिटर दुरीको सडकको चौडाई ४.५ मिटर छ ।

कुल रु. १५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले रु. आठ लाख २५ हजार बिनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगद समेत परिचालन भएको वडा अध्यक्ष दिनेश तिलीजाले बताउनुभयो ।

तल्लो शिखबाट रु. चार लाख, पाउद्धारबाट रु. एक लाख, शिख देउरालीबाट रु. पचास हजार र किन्दुबाट रु. पचास हजार आर्थिक सहयोग संकलन भएको थियो । उपभोक्ताले रु. एक लाख ४६ हजार ८७० बराबरको श्रमदान गरेका छन् ।

सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसंख्या लाभान्वित भएका छ । आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारी लगायत कृषि उपज निकासीमा सहज भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: