मालिकाका सुत्केरीलाई पोषिला खानेकुरा कोशेली

बेनी, १५ वैशाख । म्याग्दीको मालिका गाउपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गर्न थालेको छ ।

“उपाध्यक्षसंग सुत्केरी भेटघाट” कार्यक्रम अन्तरगत पोषण सुधारका लागि २०७६ साउन यता सुत्केरी भएकाहरुलाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको गाउपालिकाले जनाएको छ । सुत्केरीलाई शरिर न्यानो हुने, शक्ति बढ्ने र दूध आउने भएकाले ज्वानो र मेथीको झोल बनाएर खुवाउने गरिन्छ ।

‘पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौ,’ उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो ‘लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौ ।’

गर्भवति र प्रसुति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, साग लगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसंग सुत्केरी घेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।

मालिका–३ डाडागाउँका २० जना सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरिएको थियो । प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताउनुभयो । २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुबिधा पाउनेछन् । साउन देखि असार सम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ ।

पहिलो चरणमा गर्भअवस्थाको जोखिम न्युनिकरण र पोषण सुधारका लागि “घरघरमा झण्डा, हातहातमा अण्डा” अभियान सञ्चालन गरिएको थियो । गर्भवति पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन भन्ने उद्देश्यले घरमा हरियो रंगको झण्डा राखेर एक÷एक क्रेट अण्डा दिइएको छ ।

गर्भवति र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउपालिकाका स्वास्थ्य संयोजक सन्तु कार्कीले बताउनुभयो । बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ ।

यसैगरी संस्थागत र सुरक्षित प्रसुति सेवामा पहुँच बढाउन सुत्केरी हुन बर्थिङ सेन्टर जानेलाई प्रोत्साहन भत्ता र पालिका बाहिर जानुपर्ने अवस्थामा निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
मालिका गाउपालिकाको ७ वटै वडामा सञ्चालन हुने यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा बिस लाख रुपैयाँ बिनियोजन गरेको छ । यस्तै अन्नपूर्ण गाउपालिकाले लकडाउनबाट प्रभावित भएकाहरुलाई राहत वितरणका क्रममा चामल, दाल, नुन, तेलसंगै अण्डा समेत उपलब्ध गराएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: