म्याग्दीमा निषेधाज्ञा जारी

बेनी, ११ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले म्याग्दीमा मंगलबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रामण रोग ऐन, २०२० को दफा २ बमोजिम प्राप्त अधिकार प्रयोग गरी मिति २०७६ चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

जिल्लाभर औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कन नपाउने प्रशासनले जनाएको छ ।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्य कर्मी सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा नीजि यात्रु बाहक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

स्वास्थ्य , सुरक्षा, खाद्यबस्तु, खानेपाी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन जस्ता अति आवश्यक सेवामा भने निषेधाज्ञाको असर पर्ने छैन् ।

कोरोना रोकथामका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि लक डाउन घोषणा गरेको थियो । लकडाउनको अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्ने, खुल्ला रुपमा हिडडुल गर्ने क्रम बढेपछि प्रशासन कडा रुपमा प्रस्तुत भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: