देशभर एक हप्ता ‘लक डाउन’

बेनी, ११ चैत ः विश्वब्यापी महामारीको रुपमा फैलिएको कोडिभ–१९ (कोरोना भाइरस) रोकथामका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म देशभर ‘लक डाउन’ गरेको छ ।

रक्षामन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा गठित उच्च स्तरीय कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सोमबार राजधानीमा बसेको बैठकले अत्यावश्यक बाहेकका सबै किसिमका सेवा बन्द गरेको हो । औषधी, खाद्यान्न, तरकारी खरिदका लागि केही समय भन्दा अन्य समय घरभित्रै बस्न नागरिकलाई सरकारले आग्रह गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले यस्तो कदम उठाएको हो । यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँदैनन् । त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर–घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको छ ।

लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द भएका छन् । आन्तरिक हवाई उडान बन्द भएको छ । लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले यसअघि नै बन्दको घोषणा गरेको थियो । सोमबार मात्रै नेपालसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका उत्तरी चीनतर्फका २ वटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिण भारततिरका ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न नमिल्ने गरी कुल १ सय ६४ वटै नाका पनि सिल गरेको थियो ।

लक डाउन घोषणा भएको समयमा औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् । म्याग्दीमा बिहान १० देखि दिउसो ४ बजेसम्म मात्र खाद्यान्न पसल खुल्ने उद्योग वाणिज्य संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै फेन्सी, हार्डवयर लगायत पसल बन्द गर्न ब्यवसायीलाई आग्रह गरेको छ ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने भनिएको छ ।

(औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने भएका छन् ।

व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने सरकारले निर्णय गरेको छ ।

(संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउनेछन् । अपहेला गर्ने वा काममा बाधा पु¥याउनेलाई सोही ऐनबमोजिम सजाय गर्ने अधिकार ।

सरकारले निर्णय गर्नुअघि बेनीमा जिल्ला समन्वय समितिको आयोजनामा बसेको प्रशासन, स्वास्थ्य, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधीकारी, उद्योग वाणिज्य संघ र नागरिक समाजका प्रतिनिधिहरुको बैठकले लक डाउन गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको थियो ।

सरोकारवालाहरुको सुझाव अनुसार सुरक्षा समितिको बैठक बसेर लक डाउनको निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा सहभागिले सुरक्षा समितिले गर्ने निर्णय कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाएका छन् ।

यसैगरी चैत ११ गतेदेखि दैनिक उपभोग्य बस्तुहरु विक्रि वितरण गर्ने पसलहरु मात्र बिहान १० देखि दिउसो ४ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । मंगलबारदेखिनै लागू हुने गरि ढुवानीका साधन बाहेक छोटो दुरीका यातायात समेत रोक्ने निर्णय भएको छ ।

रत्नेचौर, मौवाफाँट, दाना, तोरीपानी, कालीपुल, घोडेपानी, दरवाङ, बाबियाचौर, ताकम÷मुनामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहभागिमा एकिकृत चेकपोष्ट स्थापना गर्ने निर्णय भएको छ । बेनीको कालीपुलमा सोमबारदेखिनै नेपाली सेनाको सहयोगमा स्वास्थ्य परिक्षण केन्द्र सञ्चालन गरिने भएको छ ।

४५ वटै वडा कार्यालयले विदेशबाट आएकाको तथ्याङ्क संकलन गर्ने, उनिहरुलाई सेल्फ क्वारेटाइनमा राख्न र निगरानी गर्ने व्यवस्था मिलाइएको छ । मास्क, सेनीटाइजर, औषधी, ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नहरुको आपुर्ति अवस्थाको अभिलेख राखि विक्रि वितरण गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ ।

वेष्ट पोइन्ट आवासीय माविको भवनमा पनि आइसोलेशन वार्ड सहितको अस्थाई अस्पताल बनाइने भएको छ । यसअघि माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइड स्थित पुरानो भवनको पाँच वटा कोठामा आइसोलेशन सहितको दश बेड क्षमताको अस्थाई अस्पतालको संरचना तयार पारिएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा, प्रदेश सभा सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, रघुगंगा गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मालिका गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालु लगायतको उपस्थिति थियो । स्थानीय तहहरुले कोरोना संक्रमणको जोखिम रोकथामका लागि गरेको तयारीको विषयमा छलफल भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: