कालीपुलमा स्वास्थ्य सहायता कक्ष

बेनी, १० चैत । म्याग्दी जिल्ला भित्रने मुख्य नाका कालीपुलमा स्वास्थ्य सहायता कक्ष स्थापना भएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन म्याग्दीमा भित्रने सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि जिल्ला प्रशासन कार्यालयको पहलमा सहायता कक्ष स्थापना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको श्रीबक्स गुल्म र सशस्त्र प्रहरीको चण्डीका गण अन्तरगतको गलेश्वर स्थित बेस क्याम्प तथा म्याग्दी जेसिजको सहकार्यमा सहायता कक्ष सञ्चालन गरिएको हो ।

सहायता कक्षमा चौबिसै घण्टा तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी खटिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । यसैगरी राष्ट्रिय युवा परिषद्का स्वमसेवकहरुले पनि स्वास्थ्य चेकजाँचमा सुरक्षाकर्मीलाई सहयोग गर्ने भएका छन् ।

सहायता कक्षमा बाहिरबाट म्याग्दीमा भित्रने यात्रुको अभिलेख राखिनुका साथै उनिहरुको ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ । थर्मन गनको प्रयोग गरेर ज्वरो नापीने शसस्त्र प्रहरीका डिएपी प्रकाश माझीले बताउनुभयो ।

स्वास्थ्य सहायता कक्षबाट कोरोना भाइरसको बारेमा परामर्श तथा सन्देश दिइने प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनुभयो । चेकजाँच गर्दा कसैमा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेमा तुरुन्तै रिफर गरिने जनाइएको छ ।

कालिपुलबाट भित्रिने सवारी साधनलाई कडाई गरिएको छ । सोमबार रातीबाट म्याग्दीलाई लकडाउन गरिने भएको छ । लकडाउनको अवस्थामा कोही पनि आवतजावत गर्न पाइने छैन ।

दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सेवाका पसलहरु विहान १० देखि ४ बजे सम्म खुल्ने छन् । जिल्लाभित्र सार्वजनिक र निजी सवारीलाई पूर्णरुपमा प्रतिबन्ध गरिने प्रशासनले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: