दग्नाममा जिप दुर्घटना हुदा नौ जना घाइते

बेनी, ७ चैत ः म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाममा शुक्रबार बिहान रोकीराखेको जिप एक्कासी गुडेर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइते सबै दग्नामका हुन् ।

गम्भिर घाइते दुई जनालाई हेलिकप्टरबाट उपचारका लागि पोखरा पठाइएको छ । दग्नामबाट बेनी आउन लागेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप सडक देखि करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रोकेर राखिएको जिप अचानक गुडेर दुई घुम्ती तल खस्दा दुर्घटना भएको हो । गम्भिर घाइते दग्नामकी ९ वर्षीया मिञ्जा पुन र ४९ वर्षीया भदेवी गर्बुजालाई एयर डाइनेस्टिको हेलीकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको रघुगंगा गाउपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माका अनुसार ३६ वर्षीय सुकमाया गर्बुजा, ३० वर्षीय हमाया पुन, ७ वर्षीय युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीय बर्षा शेरपुञ्जा, १३ वर्षीय तासिना शेरपुञ्जा र ५ वर्षीय अशिम गर्बुजाको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

जिपका चालक रघुगंगा गाउपालिका–५ झिँका पूर्णबहादुर शेरपुञ्जा भने सकुशल छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । घाइतेका अनुसार न्युट्रल अवस्थामा रोकेर राखिएको गाडी ओरालोमा एक्कासी गुडेको थियो । स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मी र यातायात व्यवसायी घाइतेको उद्धार गरेर बेनी ल्याएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: