जलजलाको माटोमा अम्लियपना बढी

बेनी, ७ फागुन । ब्यवसायिक कृषिको प्रशस्त सम्भावना रहेको जलजला गाउँपालिकाको माटोमा अम्लियपनको मात्रा आवश्यकता भन्दा बढी रहेको पाइएको छ ।

गाउँपालिकाको कृषि शाखाले विभिन्न वडामा गरेको माटोको नमुना परिक्षणको क्रममा अम्लिय र क्षारीयपन बढी भेटिएको हो । मल्लाज, लेकफाँट, नाग्लीवाङ र बनौमा माटो परिक्षण शिविर सञ्चालन गरिएको थियो ।

छुटेका कृषकहरुलाई लक्षित गरेर गाउपालिकामा पनि माटो परिक्षण गर्न लागिएको कृषि शाखाका प्रमुख राजु गौतमले बताउनुभयो । उहाँका अनुसार ४५१ जना कृषकहरुले शिविरमा माटोको नमुना परिक्षण गर्न ल्याएका थिए । किटबस्कको प्रयोगबाट नमुना परिक्षण गरिएको थियो ।

३७७ जना कृषकले ल्याएको माटोको नमुनामा अम्लिय, ८ वटामा क्षारीय र ६६ वटा नमुना तटस्थ रहेका थिए । ४१३ जनाको खेतबारीको माटोमा नाइट्रोजनको कमी, ३६ जनाकोमा मध्यम र २ जनाकोमा अधिक तथा २९७ वटा नमुनामा फस्फोरस कमी, ११२ नमुना मध्यम र ४२ वटा नमुनामा फस्फोरस अधिक पाइएको छ ।

२८५ नुमनामा पोटासको मात्रा न्यून, ८० नमुना मध्यम र ८६ नमुनामा अधिक पोटास भेटिएको छ । भिरालो जमिन र अधिक वर्षा, कृषि चुनको प्रयोग नगर्नु र प्राबिधिकको सिफारिस बिना अव्यवस्थित रुपमा रासायनिक मल तथा बिषादीको प्रयोग गरेका कारण माटोमा अम्लीय र क्षरीयपन बढी हुन थालेको कृषि शाखाका प्रमुख गौतमले बताउनुभयो ।

बिरुवाको लागि आवश्यक पर्ने माटोमा पाइने १६ तत्वको आपुर्ती गराउन अम्लिय र क्षारीयपन तटस्थ हुनुपर्छ । अम्लिय र क्षारयपन बढी हुदा बिरुवामा खाद्यतत्व आपूर्ति र उत्पादनमा असर पर्ने बताइएको छ । माटोलाई गुणस्तरीय, अम्लिय र क्षारीयपना तटस्थ बनाउन खेतीबाली लगाइसकेपछि प्राबिधिकको सिफारिसमा कृषि चुन प्रयोग गर्न गौतमले आग्रह गर्नुभएको छ ।

जलजला गाउपालिका ब्यवसायिक तरकारी, आलु, सुन्तला खेती, विउ उत्पादन र खाद्यबाली उत्पादनका हिसाबले प्रशस्त सम्भावना भएको ठाउँ हो । माटोको अवस्था पहिचान गर्न गाउपालिकाले माटो परिक्षण अभियान चलाएको जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: