राष्ट्रपति रनिङ्ग शिल्ड, समयतालिका र शैक्षिक असर

सन्तोष गौतम
बेनी, ४ फागुन । फागुन र चैत शैक्षिक सत्रको अन्तिम महिना हुन् । चैतको पहिलो हप्तादेखि देशभरका सामुदायिक विद्यालयमा वार्षिक परिक्षा चल्दैछ् । त्यसको लगत्तै माध्यमिक शिक्षा परिक्षा (एसइइ) हुदैछ् । यतिबेला विद्यार्थीहरु वार्षिक परिक्षाको तयारीमा छन् । तर शैक्षिक सत्रको अन्तमा स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना भएको छ । धवलागिरी गाउँपालिकाले पुषको अन्तिम सातानै रनिङ्ग शिल्ड गरेको थियो । त्यसपछि मालिका गाउँपालिकाले माघ तेस्रो हप्ता आयोजना गरेको थियो । मंगला र रघुगंगा गाउँपालिको शनिबार राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गरेका छन् । बेनी नगरपालिकाको रनिङ्ग शिल्ड आइतबार सकिदैछ । शनिबारदेखि शिखमा सुरु भएको अन्नपूर्ण गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड सोमबार समापन हुदैछ् । त्यसको लगत्तै फागुन ७ र ८ गते बेनीमा जिल्ला स्तरीय रनिङ्ग शिल्ड आयोजना गरिएको छ । र त्यसपछि पोखरामा प्रदेश स्तरीय प्रतियोगिता हुदैछ् ।
विद्यालयका खेल प्रतिभाको पहिचान र उनिहरुलाई अवसर प्रदान गर्ने राष्ट्रपति रनिङ्ग शिल्डको मुख्य उद्देश्य हो । विद्यालय स्तरमा खेलाडी उत्पादन गर्न र खेल प्रतिभाको पहिचान गर्ने यो प्रतियोगिताको योगदान भएको विषयमा कुनै दुई मत छैन् । शिक्षासंगै विद्यालयमा खेलकुद गतिबिधि हुनु अनिबार्य पनि छ । खेलकुद केवल मनोरञ्जन र रमाइलो मात्र नभएर स्वास्थ्य, अनुसाशनसंग पनि जोडिएको छ । भूगोलको पहिचान गराउन र देश विदेशमा चिनाउन खेलाडीले योगदान गरेका छन् । यस्तै प्रतियोगिताबाट छनौट भएका कतिपय ब्यवसायिक खेलाडी उत्पादन भएका छन् । गत वर्ष पुष माघ महिनामा राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन भएको थियो । त्यसबेला पनि समय, व्यवस्थापन र प्रतियोगितामा सहभागि हुने विद्यालयलाई पर्ने ब्यभारको विषयमा केही गुनासा र प्रश्न नउठेका होइनन् । खेल सञ्चालन बिधि, प्रक्रिया र नियमका विषयमा यसपालि पनि बिवाद तथा प्रश्न उब्जिएका छन् । ब्यवस्थापनका लागि भने स्थानीय तहहरुले केही सुधारको पहल गरेको देखियो । धवलागिरी गाउँपालिकाले खेलाडी र शिक्षकहरुलाई निशूल्क खाना बस्नको व्यवस्था मिलायो । मालिका र अन्नपूर्ण गाउँपालिकाले सहभागि हुने विद्यालयलाई बजेटको व्यवस्थापन गरेका छन् । रघुगंगा गाउँपालिकाले पदक जित्ने विद्यार्थीहरुलाई पुरस्कार उपलब्ध गरायो ।
ब्यवस्थापन, खेल सञ्चालन लगायतका विषय सुधार भएपनि समय तालिकाको बारेमा विशेष गरेर अभिभावक र शिक्षकहरुबाट गुनासो आएको छ । शैक्षिक सत्रको अन्तमा विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरिदा पठनपाठन र परिक्षाको तयारीमा असर परेको हो । खेलकुद प्रतियोगिताका कारण करिब एक हप्ताको पठनपाठनमा असर परेको छ । कम्तीमा तिन दिनका दरले प्रतियोगिता सञ्चालन भएको छ । विद्यालयले कम्तीमा पनि तिन चार दिन लगाएर तयारी गराई विद्यार्थी छनौट गरेर खेलाडी छानेका छन् । यद्यपी यो तयारी छोटो हो । पर्याप्त होइन् । यसपालिको राष्ट्रपति रनिङ्ग शिल्डमा विगतकै विजेता, उपबिजेताले उपाधिमा बर्चश्व जमाउनुको एउटा कारण तयारीको अभाव पनि हो । धेरै विद्यालयले प्रतियोगितामा औपचारिकताका लागि मात्र सहभागिता जनाएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई प्रभावकारी र उपलब्धिमुलक बनाउनका लागि पर्याप्त तयारी तथा उपयुक्त समयमा सञ्चालन गर्नुपर्ने देखिन्छ । आगामी वर्षको प्रतियोगिता सञ्चालनका लागि यसतर्फ सरोकारवालाको ध्यान जावोस । रिखार दैनिक पत्रिकाबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: