विकासलाई उत्पादन र रोजगारीसंग जोड्नुपर्छ

सतप्रसाद रोका अध्यक्ष, मंगला गाउँपालका म्याग्दी

जनताको सेवा गर्न मैले २०५४ को स्थानीय चुनावमा स्थायी शिक्षकको जागिर छाडेको थिए । त्यसबेला काँग्रेस र एमाले तालमेल गरेर चुनाव उठ्नुपर्ने भएपछि तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उमेद्वारबाट म पछि हटेर काँग्रेसका उमेद्वार लाई सघाएकोे थिए । जनप्रतिनिधि नभएपनि मैले सामाजिक, शैक्षिक, विकास गतिबिधिमा निरन्तरता दिए । २०७४ को स्थानीय चुनावमा मलाई पार्टीले उमेद्वार बनायो । जनताले विश्वास गरेर जिताए । यो ठाउँमा ल्याएका छन् । पदमा बसुन्जेल जनताको समस्या, पिरमर्का, बुझ्ने र उनिहरुको आवश्यकता परिपुर्ती गराउन लागिपरेको छु । विगतका स्थानीय निकाय भन्दा अहिलेको पालिकाको संरचना धेरै फरक हो भनेर जनताले बुझ्न थालेका छन् । पहिलो वर्ष ऐन, कानुन र कर्मचारीको अभावमा सिकाईमै गुज्रियो । गाउँपालिकाले गर्नुपर्ने नियमित काम (विकास गतिबिधि र सार्वजनिक सेवा प्रवाह) संगै संस्थागत गर्नतर्फ केन्द्रीत भएका छौ । कर्मचारी व्यवस्थापन, समाजको मानसिकता तथा बुझाईमा परिवर्तन गर्दै अलमलको अवस्थाबाट गाउँपालिकाले आफ्नो गति लिन थालेको छ । नीतिगत अन्यौलता हट्दै गएको छ । कर्मचारी व्यवस्थापन हुन थालेको छ । हामीकहाँ भएका सिमित कर्मचारीहरुले अधिकतम रुपमा परिचालन भएर सेवा प्रवाह र विकासका काममा खटिने वातावरण बनाएका छौ । स्थानीय सरकारलाई बलियो बनाउन र संस्थागत गराउनुपर्ने हाम्रो दायीत्व पुरा गर्दैछौ । गाउँपालिकाले पाएको अधिकार प्रयोग गरेर सहज रुपमा सेवा सुबिधा प्रवाह गर्न र विकास गतिबिधि बढ्न थालेको छ । अबको समयलाई विगतको अनुभवबाट पाठ सिकेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने र विकास गतिबिधिलाई तिब्रता दिने दिशामा अघि बढेका छौ । साढे दुई वर्षको अनुभवबाट निराश छैन् । उत्साहीत छु ।

गाउँपालिकाको केन्द्र देखि सबै वडा कार्यालय र बस्ति जोड्ने सडकलाई सुरक्षित र बाह्ै महिना चल्ने बनाउन प्राथमिकता दिएका छौ । सहज रुपमा यातायातका साधन चल्ने सडक भयो भने गाउँका बासिन्दालाई आवत जावत र ढुवानीमा सहज हुन्छ । गाउँमा उत्पादन भएको कृषि उपज निकासी गर्ने वातावरण हुन्छ । विकासको पहिलो पूर्वाधार सडक मानेका छौ । सबै बस्ति सडकले जोडिएको छ । निर्माण भएका सडकलाई विस्तार गरेर फराकीलो बनाउने । टेवा पर्खाल र ग्यावीन लगाउने, नाली बनाउने योजनाहरु सञ्चालन भएका छन् । सबै सडकको जिरो पोइन्टबाट नाली निर्माण सहित सडक फराकीलो बनाउन सुरु गरेका छौ । यसैगरी भुक्षय रोक्न सडक छेउछाउमा घाँस प्रजातिका बिरुवा रोपेका छौ । यसबाट पशुको आहरा आपुर्ति पनि हुन्छ । प्रदेश र संघीय सरकारको बजेटका सडक आयोजनालाई सडक स्तरोन्नतिमा लगाउन समन्वय गरेका छौ । हाम्रो कार्यकाल भित्र मंगला गाउँपालिकाको सबै सडकलाई खतरामुक्त बनाउने लक्ष्य छ । मंगला गाउँपालिका कृषिको क्षेत्रमा धेरै सम्भावना बोकेको ठाउँ हो । म्याग्दी नदी किनारका खेतमा धान, गहुँ, मकै जस्ता खाद्यबाली खेतीलाई प्रबिधिकरण गरि उत्पादन वृद्धी र लागत घटाउन कृषकलाई अनुदानमा उपकरण दिएका छौ । तरकारी खेतीमा पनि जोड दिएका छौ । यसैगरी ब्यवसायिक सुन्तला खेती, दूध उत्पादन बढाउन गाईभैसीपालन, आयआर्जन सुधारका लागि बाख्रापालन, कुखुरापालनका कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवालाई सहज बनाउन पनि प्राथमिकता दिएका छौ । खेलमैदान, सामुदायिक भवन र पर्यटकीय स्थलमा होमस्टे तथा पूर्वाधार निर्माण भैरहेको छ । पूर्वाधार विकाससंगै समाजको चेतनालाई पनि परिवर्तन गराउन र गाउँमै आयआर्जन तथा रोजगारि सिर्जना हुने वातावरण बनाउन हाम्रा योजना तथा कार्यक्रमहरु केन्द्रीत छन् । यसैगरी संघीय र प्रदेश सरकारसंग समन्वय गरेर विद्युत सेवा विस्तारको काम समेत भैरहेको छ । नदी किनारमा कटान रोकथामको योजना सञ्चालन भएको छ । साना सिचाई योजना गाउँपालिकाले सञ्चालन गरेको छ । खेतियोग्य खेतबारीमा नियमित सिचाई सुबिधा पु¥याउन पहल गरेका छौ । बरंजा, कुहँु, बाबियाचौरका केही बस्तिमा घरघरमा निजी धारा मार्फत खानेपानी वितरण भएको छ । यसलाई अझै विस्तार गराउन पहल गरेका छौ । प्रदेश सरकारले बेनी देखि बाबियाचौर हुदै दरवाङ जोड्ने सडक पिच गर्दैछ् । संघीय सरकारले तातोपानी पखेर र बाबियाचौर देखि अर्मन जोड्ने सडक अन्तरगत म्याग्दी नदी माथि मोटरेबल पुल निर्माण गर्दैछै । यी दुई वटा पुल बन्ने र बेनी दरवाङ सडक पिच हुने हो भने पनि मंगलाका साथै अन्य पालिकाका बासिन्दालाई पनि सुबिधा पुग्छ ।

हामीले असम्भव हुने ठूला सपना बाडेका छैनौ । सम्भव हुने र गर्न सकिने सामान्य कामबाट परिवर्तनको सुरु गरेका छौ । बाबियाचौरको माटेबगरमा प्राङ्गगारिक मल उद्योग सञ्चालन भएको छ । अर्मनमा सुन्तला खेतिमा मानवमुत्रको प्रयोगको परिक्षण सफल भएको छ । धेरै जसो बस्तिमा एकिकृत सामुदायिक भवन बनाइसकेका छौ । ती भवनमा युवा क्लव, आमा समूहका कार्यालय देखि भेला, बैठक, तालिम चलाउन सकिन्छ । गाउँमा हुने भोज भतेर पनि त्यही गर्न सजिलो भएको छ । खेल प्रतिभाहरुको सहजताका लागि बस्ति बस्तिमा व्यवस्थित खेलमैदान बनाउने काम भैरहेको छ । छुट्टै खेलमैदान भएपछि खेलकुद हुदाँ र मेला चलाउँदा विद्यालयको पठनपाठन प्रभावित हुने समस्या हटेको छ । डिपिआर बनाएर सडक निर्माण गर्ने र हरित सडक बनाउने अभियान सुरु भएको छ । मंगला माविमा कृषि प्राबिधिक विषयका पढाई सुरु भएको छ । मंगलामा नमुना माविको कार्यक्रम परेको छ । भूक्षय रोक्नुका साथै पशुको आहराका लागि सडक छेउछाउमा हिउँदे तथा बर्खे घाँसका बिरुवा लगाएका छौ । झाँक्रेपानीलाई पर्यटकीय स्थल बनाउनुपर्छ भनेर भ्यु टावर बनाएका छौ । होमस्टे सुरु भएको छ । टोड्के र चागाको धुरीलाई पनि पर्यटकीय गन्तब्य बनाउने योजना र कार्यक्रम तथा बजेटको व्यवस्था गरेका छौ । सेवा प्रवाहका हिसाबले पनि थोरै जनशक्ति भएपनि उनिहरुलाई अधिकतम परिचालन गरेका छौ । केही समय वडा सचिवको अभाव भयो तर पनि सेवा रोकीएन् । सेवा पाइन, ढिलो भयो भन्ने जनताको गुनासो सुन्न नपरोस भनेको छु । त्यस्तो गुनासो मेरो कानमा परेको पनि छैन् ।

विकासका लागि जनताले तिरेको करबाट आएको बजेटको सदुपयोग हुनुपर्छ भन्नेमा हामी सधै सचेत र सर्तक छौ । वडाका जनप्रतिनिधिहरुको रोहबरमा त्यहाँ रहेका सबै राजनीतिक दलका प्रतिनिधि तथा उपभोक्ताको भेला बोलाएर उपभोक्ता समिति गठन गर्ने नीति र बिधि अपनाएका छौ । मंगला गाउँपालिकाका सबै जनप्रतिनिधि नेकपा भएपनि हामीले विकास र सेवा प्रवाहका विषयमा कसैलाई तेरो मेरो भनेका छैन् । उपभोक्ताको भेलाबाट चुनिएका समितिका पदाधीकारी जो भएपनि तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौ । राजनीतिक आस्थाको आधारमा सेवा प्रवाह र विकासमा कसैलाई पनि बाइपास गरेका छैनौ । अन्य राजनीतिक दलमा आस्था राख्नेलाई पनि हामीले सम्मान र अवसर दिएका छौ । सबैभन्दा बढी प्रश्न उठ्ने र शंका हुने हेभी इक्युभमेन्टको प्रयोगलाई पनि पारदर्शी बनाउने नीति लिएका छौ । उपभोक्ता समितिले प्रतिस्पर्धा गराएर जसले सस्तोमा काम गर्छ उसको उपकरण भाडामा लिनुपर्ने नीति छ । जो मन लाग्यो उसैको उपकरण भाडाामा लिने र महँगो भाडा तिर्ने अवस्था छैन् । घनमिटरमा हिसाब गरेर डोजरको प्रतिघण्टा अधिकतम पाँच सय पाँच सय रुपैयाँ भन्दा बढी भाडा लिन दिन नपाउने नियम बनाएका छौ । अन्त र हामी नआउँदै एक घण्टा डोजर चलाएको आठ हजार पाँच सय सम्म भाडा तिरेको, बाटोमा हिडेको समेत तिरेको सुनिन्छ । तर हाम्रो त्यस्तो छैन् । योजना कार्यान्वयन भैरहेको अवस्थामा र सकिएपछि उपाध्यक्षको नेतृत्वमा स्थलगत अनुगमन गरिरहेका हुन्छौ । वडाका जनप्रतिनिधिहरुले पनि र समाजका अन्य पक्षले समेत हाम्रा योजनाहरुको निगरानी गरेका छन् । विगतका दुई आर्थिक वर्षमा सबै योजना उपभोक्ता समिति मार्फत सञ्चालन गरेका थियौ । यो वर्ष पचास लाख देखि माथिका केही योजनालाई ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्दैछौ । जुन बिधि उपयुक्त हुन्छ त्यसलाई अपनाउछौ । धेरै जसो उपभोक्ता समितिको काम राम्रो छ । जनसहभागिता पनि जुटेको छ । तर सत प्रतिशत ठिक छ भन्नेमा म पनि छैन् । केही उपभोक्ता समितिका पदाधीकारीमा पारदर्शीताको अभाव भेटियो । चुनावमा सहयोग गरेको र आफ्नै सरकार भएको फाइदा उठाउन खोज्ने गलत प्रवृति चुनौति छ । अर्को तर्फ स्थानीय सरकारप्रति वास्तविकता नबुझी नकारात्मक पूर्वाग्रही भावनाले भ्रम छर्ने समस्या छ । अवसर पाएको बेलामा काम गरेर देखाउनुपर्छ भन्ने भन्दा पनि कतै दायाँबाया गर्न सकिन्छ की भनेर सोच्ने गरेको पनि पाइयो । हामी बोलेर र मैले एक्लो प्रयास गरेर मात्र पनि नहुने रहेछ् । जनप्रतिनिधि, कर्मचारी देखि उपभोक्ता समिति, जनता सबैको मानसिकतामा परिवर्तन आउनुपर्छ । उपभोक्ता समितिको क्षमताले नभ्याउने र उपकरण प्रयोग गर्नुपर्ने योजनालाई ठेक्काबाट कार्यान्वयन गर्न खोजिएको हो । विकासमा ठेक्का प्रक्रियाको मोडल परिक्षणको क्रममा छौ ।

मंगला गाउँपालिकाको सम्भावना भनेको कृषि हो । यहाँ ब्यवसायिक कृषि र पशुपालनको माध्यमबाट रोजगारि सिर्जना र आयआर्जनको वातावरण बनाउन सकिन्छ । टोड्के, झाँक्रेपानी, चागाको धुरीलाई पर्यटकीय गन्तब्य बनाउन सकिन्छ । यी सम्भावनालाई ब्यवहारमा रुपान्तरण गराउन हामीले पूर्वाधार तयार पार्न जोड दिएका छौ । राज्यलाई सहयोग गर्नुपर्छ भन्दा पनि नकारात्मक भावना राख्ने, कसरी आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्न सकिन्छ भन्ने गलत मानसिकतानै हाम्रो विकास, सुशासन र सम्बृद्धिको बाधक तथा चुनौति हो । सकारात्मक भावनाको विकास गराउन र मानसिकतामा परिवर्तन ल्याउन सकेमा धेरै विषयमा सुधार गर्न सकिन्छ । सिमित स्रोत, जनताका असिमित चाहना र महत्वाकाक्षा पनि हामीलाई चुनौति हुन् । सबै विषयलाई मिलाएर सन्तुलित विकासको गतिमा गाउँपालिकालाई अघि बढाउनुपर्नेछ । हाम्रा गाउँमा घर छन मान्छे छैनन् । गाउँमा मान्छेहरु चाडपर्व मनाउन मात्र जान्छन् । सबै बजार केन्द्रित भएका छन् । गाउँका विकास आयोजनालाई उत्पादन र रोजगारीसंग जोड्नुपर्ने छ । शिक्षामा सुधार ल्याउनुपर्ने छ । आधारभूत स्तरको सडक, बिद्युत, खानेपानी र सहज रुपमा स्वास्थ्य सेवाको उपलब्धता भयो भने गाउँहरु बस्न लायक हुन्छन भन्ने लाग्छ् । सुबिधा र अवसरको खोजिमा बसाईसराई गर्ने क्रम रोक्न सकियो भनेनै हामी सफल हुन्छौ । यसमा समाजको सबै तप्काको साथ र सहयोगको अपेक्षा गर्छु । प्रदेश र संघीय सरकारले ऐन, कानुन निर्माण छिटो गरे स्थानीय तहलाई काम गर्न सजिलो हुन्छ । नकारात्मक भावना त्यागेर इमान्दार भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । हरेक व्यक्तिमा हामीले केही मेहनत र दुख ग¥यौ भने मात्र परिवर्तन, सम्बृद्धी र विकास सम्भव छ । आत्मकेन्द्रित भावना त्यागेर दिर्घकालीन सोचको विकास गर्नुपर्ने देखिन्छ ।

रिखार दैनिकका प्रकाशक सन्तोष गौतमसंगको कुराकानीमा आधारित

Leave a Reply

Scroll to Top
%d bloggers like this: