म्याग्दी क्याम्पसले क्युएए उत्सव मनाउने

बेनी, १४ माघ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसले माघ २१ ग्ते बेनीमा उत्सव मनाउने भएको छ ।

विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्तसंगै अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको खुसीयालीमा बेनीमा झाँकी सहितको ¥याली र समारोहको आयोजना गरेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

म्याग्दी जिल्लाकै शैक्षिक उपलब्धीको रुपमा लिएर क्युएए उत्सव मनाउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । उत्सवमा सहभागि हुन बजारबासी, जिल्लाका शैक्षिक अगुवा तथा सरोकारवाला, विद्यार्थी र अभिभावकहरुलाई अनुरोध गरेको छ । क्यु एए प्राप्त गर्ने म्याग्दी क्याम्पस धौलागिरिमा पहिलो र नेपालका चौध सय क्याम्पस मध्य ४१ औ हो ।

२०७४ चैत देखि यस अभियानमा लाग्दै आएको म्याग्दी क्याम्पसले शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका कारण क्युएएको मान्यता पाएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

यसअघि नेपालका ४० वटा सरकारी र सामुदायिक क्याम्पसहरुले गुणस्तर परिक्षणको प्रमाणिक प्रमाणपत्र प्राप्त गरेका छन् । आयोगको टोलीले १२० वटा सूचकलाई १०० अंकमा मापन गरेर मूल्याङ्कन गरेको थियो । ५० अंक प्राप्त गरेमा ५ वर्षका लागि क्युएएको मान्यता पाउने कार्यबिधि छ ।

क्युएए मान्यता प्राप्त गर्नका लागि २०७० मा आयोगलाई प्रस्ताव गरिएकोमा २०७४ चैत देखि प्रक्रिया सुरु भएको थियो । क्युएए मान्यता पाएको क्याम्पसमा अध्ययन गरेको विद्यार्थीले विश्व बजारमा सहज रुपमा अवसर पाउने सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

आयोगले तोकेका सूचक पुरा गर्न क्याम्पसमा चौमासिक रुपमा आन्तरिक परिक्षा, प्रशासनिक र विभागीय व्यवस्थापन, भौतिक पूर्वाधारको सुधार, कर्मचारी, प्रध्यापकहरुको चुस्त परिचालन लगायत सुधारका काम गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

आन्तरिक परिक्षा सञ्चालन भएपछि स्नातक तहका विद्यार्थीको उतिर्णदर वृद्धी भएको छ । स्नाकोत्तर तह व्यवस्थापन संकायको तेस्रो सेमेस्टारको हालै प्रकाशित नतिजामा म्याग्दी क्याम्पसबाट परिक्षा दिएका सबै १८ जना उतिर्ण भएका छन् ।

स्नातक तहमा तीन वर्ष पहिले सरदर १८ प्रतिशत उतिर्णदर रहेको क्याम्पसमा अहिले बढेर २५ प्रतिशत पुगेको छ । वि.स २०४८ मा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा एक हजार ४३ जना विद्यार्थी छन् ।

कक्षा ११ देखि स्नाकोत्तर तहको पठनपाठन हुन्छ । स्नातक सम्म शिक्षा, मानविकी र व्यवस्थापन तथा स्नाकोत्तर तहमा व्यवस्थापन संकाय सञ्चालन भएको छ । समुदाय मार्फत क्याम्पस सञ्चालन गरिएको हो ।

५ वर्षका लागि पाएको क्युएए मान्यतालाई दिगो र निरन्तरता दिन विशेष योजना बनाइएको क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले बताउनुभयो । जिल्लाकै क्याम्पसमा गुणस्तरीय शिक्षा उपलब्ध भएपछि उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: