सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि सिंगाबासीमा खुसीयाली

सिंगा, १४ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सोमबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

स्थानीयबासीलाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवाको उपभोग गर्ने सुबिधा उपलब्ध गराउन बेनी नगरपालिकाले केन्द्रको स्थापना गरेको हो । केन्द्रबाट तल्लो र उपल्लो सिंगा, सुर्केमेला र बास्कुनाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।

वडा स्तरको सिंगा स्वास्थ्य चौकी तातोपानीमा भएकाले सिंगाका बासिन्दालाई सेवा लिनका लागि अपायक भएको थियो । ‘सदरमुकामको नजिकै भएपनि स्वास्थ्य संस्था हामीलाई अपायक पर्ने ठाउमा भएकाले सुबिधा लिन जान समस्या थियो,’ स्थानीयबासी देवेन्द्रबहादुर बानियाले भन्नुभयो ‘शहरी स्वास्थ्य केन्द्र भएपछि आधारभूत स्वास्थ्य सेवामा पहुँच बढेको छ ।’

केन्द्रबाट करिब तीन सय घरधुरी लाभान्वित भएका छन् । वि.स २०६५ मा सिंगाका बासिन्दाहरुले स्वास्थ्य चौकीको माग गर्दै बेनीमा प्रर्दशन गरेका थिए । हरेक जसो गाविस र नगर परिषद्मा उनिहरुले स्वास्थ्य चौकी नभए त्यसको विकल्पमा शहरी स्वास्थ्य केन्द्रको माग गर्दै आएका थिए ।

स्वास्थ्य चौकी र केन्द्रका लागि जग्गा समेत उपलब्ध गराएकी डम्मरकुमारी बानियाले वर्षौदेखिको माग पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो । सिंगाका बासिन्दालाई तातोपानी पुग्न करिब ४५ मिनेट पैदल हिड्नुपर्छ ।

स्थानीयको माग अनुसार नगरपालिकाबाट पहल गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो । ‘सिंगाबासीको दशकौ देखिको माग पुरा भएको छ,’ वडा अध्यक्ष पौडेलले भन्नुभयो ‘स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर चौकी सरहको सुबिधा दिने बनाउन पहल गर्नुपर्नेछ ।’

सिंगामा पछिल्लो समय बस्ति विस्तार हुने क्रम बढेको छ । स्वास्थ्य केन्द्रमा नगरपालिकाले १ जना अहेव खटाएको छ । तल्लो र उपल्लो सिंगाको मध्य भागमा पर्ने ठाउँमा रहेको सामुदायिक भवनमा केन्द्र स्थापना भएको छ । समुदायले भवनको व्यवस्थापन गरेका हुन् ।

केन्द्रबाट आधारभूत स्तरको सेवा प्रवाह हुने बेनी नगरपालिकाको स्वास्थ्य शाखाकी नर्सीङ निरिक्षक लिला गौतमले बताउनुभयो । स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधि वितरण, गर्भ परिक्षण, खोप, क्षयरोग उपचार लगायत सम्बन्धी सेवा दिइने नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुश्मराज पौडेलले बताउनुभयो ।

शहरी स्वास्थ्य केन्द्रको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि नगरप्रमुख श्रेष्ठले नगरबासीलाई सहज र सर्वसुलभ रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन जोड दिएको बताउनुभयो ।

‘सहज रुपमा आधारभूत स्तरको स्वास्थ्य सेवामा नागरिकको पहुच बढाउन सिंगामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौ,’ उहाले भन्नुभयो ‘यसबाट सिंगाबासीलाई पक्कै पनि राहत पुग्नेछ । सामान्य बिरामी हुदा समेत बेनी र तातोपानी पुग्नुपर्ने बाध्यता हट्ने विश्वास लिएको छु ।’
नगर उपप्रमुख सञ्जु बरुवालले नगरभित्रका दुर्गम बस्तिमा आधारभूत सेवा सुबिधाको पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले केन्द्रबाट स्थानीयबासीलाई राहत मिल्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा सचिव लीला थापाले गर्नुभएको थियो ।

बेनी नगरपालिकाले यसअघि वडा न. ५ को सेताढुङ्गा र वडा न. ६ को थाकनपोखरीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । यसै वर्ष रत्नेचौर स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा सुरु गरेको छ । शहरी स्वास्थ्य केन्द्र स्थापना भएको अवसरमा सिंगाबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । राक्सेको प्रगतिशिल महिला पञ्चेबाजा समूहले बाजा बजाएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: