घतानमा निशूल्क स्वास्थ्य शिविर

बेनी, १४ मंसिर । बेनी नगरपालिका–९ घतानमा शनिबार महिलाहरुलाई लक्षित गरेर निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनी नगरपालिकाले अब्ष्ट्रिक फिस्टुला र पाठेघर खस्न र पाठेघरको मुखको क्यान्सर सम्बन्धी रोगको पहिचान गर्ने उद्देश्यले शिविरको आयोजना गरेको हो ।

शिविरमा ७३ जनाले सेवा लिएका बेनी नगरपालिकाको स्वास्थ्य शाखाका लीलादेवी गौतमले जानकारी दिनुभयो । ४८ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको  थियो ।

बेनी अस्पतालका मेडिकल अधिकृत बिशाल तिवारी र गौरव भट्ट तथा घतान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

बिरामीहरुलाई निशूल्क स्वास्थ्य परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत ग्रामिण क्षेत्रमा रोग लुकाएर बस्न बाध्य महिलाहरुको सहजताका लागि शिविर सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।

ज्याम्रुककोट स्वास्थ्य चौकीमा पनि शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । स्वास्थ्य कमजोर भएका कारणले पनि महिलाहरुले लैङ्गिक हिंसा ब्यहोर्नुपरेकाले त्यसलाई न्युनीकरण गर्न शिविरले सहयोग पुग्ने उपप्रमुख बरुवालको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले महिलाहरुले पाठेघर समस्या रोग लुकाएर बस्दा धेरै पिडा र हिंसा ब्यहोर्न बाध्य भएको बताउनुभयो । रोगको पहिचान गरि उपचार र स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई थियो ।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालको अध्यक्षता, घतान स्वास्थ्य चौकीका प्रमुख जमुना शर्माको सञ्चालन र स्थानीय शिक्षक रश्मि खड्काको सञ्चालनमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य गौरी थापा, महिला तथा बालबालिका शाखाका संयोजक लक्ष्मी कार्की, मेडिकल अधिकृत विशाल तिवारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: