बेसाहारा वृद्धालाई घर

बेनी, ७ मंसिर । बेनी नगरपालिका–१ रत्नेचौरकी बेसाहरा एक वृद्धाको लागि घर निर्माण गरिएको छ ।

गाइबस्तु बाध्ने गोठमा बस्दै आउनुभएकी रत्नेचौरको उपल्लाचौरकी ९१ वर्षीया हिरामती कामीलाई वडा कार्यालयको पहल र लायन्स क्लव अफ बेनी पिस सिटीको सहयोगमा निर्माण गरिएकोे घर शनिबार हस्तान्तरण गरिएको छ ।

घर निर्माणमा लायन्स क्लब अफ बेनी पिस सिटीले एक लाख रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबले बेसाहरा हिरामीको लागि २० हजार रुपैयाँ बराबरको बराबरको खाद्यान्न लगायतको सामग्री सहयोग गरेको छ ।

घर निर्माणमा कुल रु १ लाख ७० हजार खर्च भएको र क्लबले उपलब्ध गराएको सहयोग रकम र सहयोगदाताबाट संकलन भएको रकममा अपुग भएको रु ५० हजार रकम उपलब्ध गराउन वडा कार्यालय मार्फत बेनी नगरपालिकामा प्रस्ताब सहित अनुरोध गरिएको वडा अध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।

कामीको आफ्नै बारीमा इट्टा र ढुंगा प्रयोग गरि निर्माण गरिएको एक तले घर टिनले छाइएको छ । घर निर्माणमा स्थानीय सालघारी सामुदायिक बनले निःशुल्क काठ उपलब्ध गराएको र स्थानीयबासीले समेत श्रमदान गरि सहयोग गरेको वडा अध्यक्ष रावलले बताउनुभयो ।

उहाँको लागि शौचालय लगायतका अन्य पूर्वाधार बनाउनको लागि समेत पहल भैरहेको बताउनुभयो । आफ्नो घर नभएपछि उपल्लोचौरमा अरुको जग्गामा एकतले छाप्रो बनाएर बन्नुभएकी हिरामतीले एकै ठाउँमा खाने, बस्ने र बाख्रा समेत सोही ठाउँमा पाल्दै आउनुभएको थियो । नयाँ घर पाएपछि बृद्ध अबस्थामा पुग्नुभएकी हिरामतीले खुसी व्यक्त गर्दै सहयोगदाताहरुलाई धन्यबाद दिनुभयो ।

क्लबका अध्यक्ष श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, लायन्स क्लब अफ नेपाल ३२५ वि वानको चिफ एडभाइजर चन्द्रकुमार केसी, क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य, वडा अध्यक्ष टेकबहादुर रावल लगायतले हिरामतीलाई नवनिर्मित घर औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ ढकालले घर नभएर छाप्रोमा बस्दै आउनुभएकी बृद्ध महिलाको लागि घर बनाईदिएर क्लबले समाजसेवाको नमुना कार्य गरेको बताउनुभयो । उहाँले समुदाय र सहयोगदाताहरुको साथ र सहयोगबाट हुने यस्ता कार्यहरुले राज्यलाई समेत रचनात्मक सहयोग पुगेको बताउँदै सामाजिक कार्यमा सबैक्षेत्रबाट नियरन्तर रुपमा रचनात्मक साथ र सहयोग आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ नेपाल ३२५ वि वानको चिफ एडभाइजर केसीले पिस सिटीले आफ्नो स्थापनाकालदेखि नै समाजमा समाजिक कार्यको नमुना र उदाहरणीय कार्यहरु गर्दै आएको बताउँनुभयो ।

उहाँले क्लबले पढाऔँ अभियानमा समेत अक्षयकोष नै स्थापना गरि छात्राबृत्ति प्रदान गर्ने कार्यहरु गरि लायन्सको मानव सेवाको अभियानमा फरक र रचनात्मक कार्यहरु गर्दै आएकोमा क्लबका पदाधिकारी र सदस्यहरुलाई आभार प्रकट गर्नुभएको थियो । क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षता, हरिकृष्ण गौतमको स्वागत र सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: