३० औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरम विपन्न बालबालिकालाई कपडा वितरण

बेनी, ४ मंसिर । ३० औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा बुधबार बेनी नगरपालिकाका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले एक÷एक जोड न्यानो कपडा वितरण गरेको हो ।

वडा कार्यालयको सिफारिसमा ६० जना बालबालिकाहरुलाई कपडा वितरण गरेको समितिका अध्यक्ष रवीप्रसाद शर्माले बताउनुभयो । बगुवाखोलाको बालमन्दिर आधारभूत विद्यालयद्धारा सञ्चालित वौद्धिक अपांगता स्रोत कक्षालाई म्याट्रेस पनि सहयोग गरिएको थियो ।

बालअधिकारको क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको गैरसरकारी संस्था सिवीन नेपाल पनि कार्यक्रम सहआयोजकको रुपमा रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले विगतको तुलनाको बालबालिकाको अवस्थामा सुधार भएपनि यो क्षेत्रमा राज्यले धेरै काम गर्न बाँकी रहेको बिचार व्यक्त गर्नुभयो । सांसद केसीले बालबालिकाको संरक्षणका लागि नीति बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

बालबालिकाको क्षेत्रमा लगानी बढाउन र उनिहरुले पाउने संवैधानिक अधिकारको कार्यान्वयनमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारप्रति संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बालमैत्री पूर्वाधार निर्माण र नीतिगत व्यवस्थाको व्यवहारिक कार्यान्वयनको आवश्यकता औल्याउनुभयो । बालबालिका श्रमशोषण र यौन हिंसाको शिकार बन्ने जोखिम रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक चेतनाथ चापागाइले म्याग्दीमा बालबालिका संग सम्बन्धित मुद्दा र बालबालिकाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बेनी नगर कार्यपालिकाका प्रवत्ता वडा न. ८ का अध्यक्ष रामकृष्ण बराइली र गैरसरकारी संस्था महासंघका सहसचिव प्रकाश रेग्मीले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख लक्ष्मी कार्कीको सञ्चालन र सिविन नेपाल म्याग्दीका संयोजक बसन्त ढुङ्गानाको स्वगतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: