आज राष्ट्रिय मेलमिलाप दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै (के हो त यो नीति हेर्नुहोस्)

पौष १६ । आज राष्ट्रिय मेलमिलाप दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला र गणेशमान सिंह ४४ वर्षअघि आजकै दिन सबै राजनीतिक शक्ति र जनता मिलेर देश बचाऔं भन्दै मेलमिलापको नीति लिई भारत निर्वासन छोडेर स्वदेश फर्कनुभएको थियो । यही दिनको सम्झनामा आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ ।

उहाँहरुले ०३३ सालमा लिनुभएको यो मेलमिलापको नीतिको सान्दर्भिकता आज पनि उत्तिकै रहेको काँग्रेस नेताहरुको दावी छ। ०४६ सालमा मेलमिलापकै कारण लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरूसमेत सहभागी भएर जनआन्दोलन सफल भएको थियो । पछिल्लो समय कांग्रेसको नेतृत्वमा संविधान जारी हुँदा पनि दलहरूका बिचमा बलियो एकता देखिएको थियो ।

संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो । यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ । “परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ,” काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिँहले भन्नुभयो । मेलमिलाप दिवसको अवसरमा नेता सिँहले सबैमा हार्दिक शुभकामना व्यक्तत गर्नुभएको छ ।

शेषकान्त पण्डितले सामाजिक संजामा राख्नुभएको मेलमिलापको थप सामाग्री

सन्दर्भः राष्ट्रिय मेलमिलाप नीति

यस्तो थियो २०३३ साल पुस १६ गते बीपीको दैनिकी

विहान जयप्रकाशले विदाइ गरे

आठ वर्ष लामो निर्वासन जीवनपछि २०३३ साल पुस १६ गते बीपीले नेपाल फर्कने निर्णय लिनुभएको थियो । त्यसलाई बीपीले मेलमिलापको नीतिको नाम दिनुभएको थियो । विहान पटनाबाट आरएनएसीको विमान चढेका बीपीलाई परिवारका सदस्य र भारतीय समाजवादी आन्दोलनका नेता जयप्रकाश नारायण लगायत ठूलो समूहले विदाई गरेका थिए ।

गणेशमानजी बीपीको यस नीतिसित सहमत हुनुहुन्थेन तर अन्तिममा उहाँले बीपीलाई साथ दिनुभयो र त्यो दिन बीपीसँगै फर्कनुभयो । बीपीलाई विदाई गर्दा धेरैका आँखा रसाएका थिए । बीपी यसबाट प्रभावित हुनुभएको थियो । बीपीप्रति देखाइएको यस खालको सद्भावबाट बीपीको मन छोएको थियो । काठमाडौँ आउनु अघिल्लो दिन मात्रै बीपी पटनामा आइपुग्नुभएको थियो र बीपीलाई भेट्नेको भीड नै लागेको थियो । बीपीका साथीभाई र शुभेच्छुकले देवेन्द्रप्रसाद सिंहको घर भरिएको थियो ।

जयप्रकाश नारायणले ‘बीपी तपाईलाई नेपाल जानुस् स्वेदशमै बसेर प्रजातन्त्रका लागि संघर्ष गर्नुहोस् भनेका थिए । नेपाल आउनु अघि गिरिजाप्रसाद कोइरालासितको भेटमा बीपीले भन्नुभएको थियो ‘‘नयाँ राजा (बीरेन्द्र) छन् अनुभवी छैनन् । कसैले गलत बाटोमा लाग्न सल्लाह दियो भने देशकै अस्तित्व खतरामा पर्छ । त्यसैले म फर्कन्छु ।’’ बीपी फर्के पनि गिरिजाबाबु भने निर्वासनमै हुनुहुन्थ्यो ।

काठमाडौँ पुगेपछि बीपीको भविष्य अनिश्चित छ भनेर धेरैले बीपीसित चिन्ता जाहेर गरेका थिए । बीपी पुस १६ गते काठमाडौँ फर्कने निर्णय गरेसँगै सुशीला कोइरालालाई धेरै पीडा भइरहेको थियो । बीपीको अनिश्चित भविष्यप्रति सुशीलाले धेरै चिन्ता गर्नुभएको थियो ।

पटनाबाट काठमाडौँ फर्कने दिन सुशीलाले बीपीलाई सानो स्वरमा मलाई माया गरेको भए जेल जानका लागि पक्कै काठमाडौँ जाने निर्णय तपाईले गर्नुहुँदैनथ्यो होला’ भन्ने कुरा गर्नुभएको रहेछ । बीपीको नेपाल फर्कने निर्णयपछि शैलजाले पनि अनौठो व्यवहार देखाएको र परिवारका अन्य सदस्य पनि निकै चिन्तित भएका रहेछन् ।

नेताहरुले स्वागत गर्न पाएनन्

बीपी चढेको विमान विमानस्थलमा उत्रदा काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई लगायतका धेरै नेता कार्यकर्ता स्वागतका लागि हातमा फुल लिएर बसेका थिए । तर कसैले पनि बीपीलाई स्वागत त के हेर्न पनि पाएनन् ।

धेरैले उल्टो कुटाई खाएर फर्किएका रहेछन् । त्यो बेला जोगमेहर श्रेष्ठ गृहमन्त्री थिए । बीपीको स्वागतलाई भब्य बनाउन काँग्रेसका पाका नेता जगन्नाथ आचार्य केही दिन पहिले नै काठमाडौँ आउनुभएको थियो । तर उहाँले पनि बीपीलाई स्वागत गर्न पाउनुभएन ।

साँझ बन्दी गृहमा बीपी र गणेशमानजी

आरएनएसीको जहाज काठमाडौँ उत्रेपछि बीपी चढेको विमानलाई धावनमार्गको कुनातिर लगिन्छ । त्यहाँ बीपी, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु र खुमबहादुर खड्कालाई ओरालिन्छ ।

बीपीको त्यो टोलीलाई त्यहाँ बनाइएको एउटा पालमा विमानस्थलमा औपचारिकता पूरा गरिन्छ । त्यसपछि शैलजा आचार्यलाई अलगै जीपमा राखिन्छ । उनी हात हल्लाएर नेताहरुसित विदावादी हुन्छिन् । बीपी र गणेशमानजीलाई अलगै जीपमा सुन्दरीजल बन्दी गृहमा पु¥याइन्छ । बीपीलाई त्यसपछि सेनाको जिम्मा लगाइन्छ ।

कार्यकर्ताको स्वागत नपाएका बीपीलाई सेनाले स्वागत गरेर बन्दीगृहमा पु¥याउँछन् । बीपी निचोडमा लेख्नुहुन्छ – ‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङ्गो भइरहेको छ । त्यतिबेला भारतमा इन्दिरा गान्धीले संकटकाल लगाइकी थिइन् ।

बीपी आउने भएपछि

बीपीले मेलमिलापको नीति लिएर स्वदेश आएपछि तत्कालीन प्रम तुलसी गिरीले देशदोह्री बीपीलाई कानुन बमोजिम कारवाही गरिने जानकारी पोखरामा आयोजित एक पञ्च ¥यालीमार्फत सार्वजनिक गरेका थिए । पूर्व प्रम सूर्यबहादुर थापाले धनकुटा पुगेर बीपीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए ।

विभिन्न स्रोत तथा सामग्रीको सहयोगमा तयार पारिएको ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: