चितवनका छात्राहरु अव साइकलमा सरर

चितवन, असोज २० । चितवनको भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडामा रहेका १७ विद्यालयमा अध्ययन गर्ने १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख दाहालले विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताउनुभयो । साइकल पाएपछि खुसी भएका विद्यार्थीहरुले विद्यालय आउन जान सजिलो हुने बताएका थिए । घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने र यसले पठनपाठनमा पनि निकै सहज हुने छात्राहरुको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: