मोना मकाउ र गंगा फाउण्डेशनद्धारा पहिरो पिडितलाई सहयोग

बेनी, २६ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र गंगा फाउण्डेशनले सोमबार म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको बुलका पहिरो पिडितहरुलाई सहयोग गरेका छन् । पहिरोका कारण खच्चर समेत आवत जावत गर्न नसकेको बुलका बासिन्दालाई हेलिकप्टर मार्फत चामल, दाल र लत्ताकपडा लगेर वितरण गरिएको हो ।

पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र थप ५० जना बालबालिकालाई एक÷एक जोर लत्ताकपडा सहयोग गरिएको गंगा फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

मोना मकाउका अध्यक्ष चिरञ्जिवी पौडेलले पठाएको एक लाख रुपैयाँबाट खाद्यान्न खरिद गरेर गंगा फाउण्डेशनको तर्फबाट प्रभु एयरको हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । फाउण्डेशनले एक लाख बिस हजार रुपैयाँ खर्च ब्यहोरेको छ ।

अध्यक्ष जिसी र मोना मकाउका सदस्य कमल पौडेल राहत सामग्री लिएर पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री थममाया थापा, धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुन, मालिका गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालु, मराङका वडा अध्यक्ष राजाराम सुवेदी मार्फत राहत सामग्री वितरण गरिएको थियो ।

निर्माण ब्यवसायी महासंघ म्याग्दी र जिसी गु्रपका अध्यक्ष नारायण जिसी तथा उहाँका भाई किसानले वि.स. २०४३ मा तीन वर्षको उमेरमा दिवंगत भएकी बहिनी गंगाको नाममा स्थापना भएको गंगा फाउण्डेशन सोमबारनै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।

गंगाको स्मृतिमा जिसी परिवारले यसअघि बेनी अस्पतालमा चार कोठे अप्रेशन गरेका बिरामी राख्ने भवन निर्माण र जामुनाखर्क माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । फाउण्डेशन मार्फत शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन लगायत सामाजिक गतिबिधि गर्ने उद्देश्य राखिएको छ ।

फाउण्डेशनको उपाध्यक्षमा बेलबहादुर केसी, सचिवमा प्रेमबहादुर घर्तीक्षेत्री, कोषाध्यक्षमा लालकुमारी खड्का घर्ती क्षेत्री र सदस्यमा विकास बानिया रहनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: