दानाका वडा अध्यक्ष पुर्जाद्धारा विद्यालयलाई तीन रोपनी बढी जग्गा उपलब्ध

बेनी, १६ साउन । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानाका वडा अध्यक्ष नरसिंहबहादुर पुर्जाले ज्ञानप्रकाश माविलाई तीन रोपनी बढी जग्गा उपलब्ध गराउनुभएको छ ।

नमुना विद्यालयमा छनौट भएको ज्ञानप्रकाश माविको पूर्वाधार विस्तारका लागि बिहीबार विद्यालयमा भएको छलफलमा जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । विद्यालयसँग जोडिएको तीन रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउनुभएको प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो ।

पुर्जाले उपलब्ध गराउनुभएको जग्गाको मूल्य स्थानीय मूल्याङ्कन अनुसार पचास लाख भन्दा बढी पर्ने प्रअ नेपालीले बताउनुभयो । पुर्जा विद्यालयका पुर्व प्रधानअध्यापक समेत हुनुहुन्छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा दश जोड दुई तहमा होटल ब्यवस्थापन र विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले ज्ञानप्रकाश माविलाई गत वर्ष नमुना विद्यालय कार्यक्रममा छनौट गरेको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५० जना विद्यार्थी छन् । २०७५ को एसईई परिक्षामा ज्ञानप्रकाश म्याग्दीको सामुदायिक माविमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: