म्याग्दीबाट पठाइएको १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

बेनी, २ असार । पिसिआर बिधिबाट कोरोना (भाइरस)को परिक्षणका लागि नौ दिनअघि बेनीबाट पठाइएको १५ वटा स्वाब नमुनाको नतिजा सोमबार आएको छ ।

भारतबाट आएर बेनीको क्वारेन्टिनमा बसेका उनिहरुमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । पोखरा स्थित प्रयोगशालामा पिसिआर बिधिबाट गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

जेठ २५ गते पठाइएको १५ जनाको स्वाब नमुनाको नतिजा सोमबार आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । सोमबार नतिजा आएका १२ जना जेठ १८ र १९ गते भारतबाट आएका हुन् ।

दुई जना सवारी साधनका कर्मचारी र एक जना एम्बुलेन्सका चालक हुन् । म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने तयारी गरिएको छ ।

तीन जना कोरोना संक्रमितको शैक्षिक तालिम केन्द्रको भवनमा स्थापित आइसोलेशनमा उपचार भैरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ । हाल म्याग्दीका क्वारेन्टिनमा भारतबाट आएका ६५ र युएईबाट आएका दुई जनालाई राखिएको छ ।

हालसम्म २२४ जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधिबाट परिक्षणका लागि पोखरा पठाइएको छ । जस मध्य जेठ २७ र २८ गते पठाइएको ३० वटा स्वाबको नतिजा आउन बाँकी छ ।

पिसिआर बिधिबाट कोरोना परिक्षणमा ढिलाई हुँदा क्वारेन्टिनमा बसेकालाई तनाब भएको छ । सरकारलाई पिसिआर बिधिबाट कोरोना परिक्षणलाई तिब्रता दिन दवाव परेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: