जंगलमै बास बसेर पदमार्ग खन्दै गुर्जाबासी

बेनी, १३ जेठ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका बीच म्याग्दीको धवलागिरी गाउपालिका–१ गुर्जामा पदमार्ग निर्माण भइरहेको छ ।

गुर्जाका बासिन्दाहरु विभिन्न दुख, कष्ट र अप्ठ्यारा सहदै जंगलमै बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । गुर्जा देखि लत्रवाङ धुर्म फोल्टीङखोला (तातोपानी) देमुको भिर अर्चे हुदै मुदी जोड्ने पदमार्ग खन्न स्थानीयबासी दुई महिनादेखि जंगलमै बसेर काम गरिरहेका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा पर्यटन मन्त्रालयले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट गाउँपालिकाले उपभोक्ता समिति मार्फत पदमार्ग बनाउन लागेको हो । दैनिक ७० देखि ८० जना मजदुर परिचालन गरेर पदमार्ग निर्माण भैरहेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

बाउसो, गैची, बेल्चा, गल, धन, कुतो र कोदाले प्रयोग गरि मजदुर परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो । छ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेकोमा गुर्जाबाट चार किलोमिटर खनिसकिएको उपभोक्ता समितिका अध्यक्ष प्रेम छन्त्यालले बताउनुभयो ।

मजदुरहरुका लागि काम गर्ने ठाउँमै खाद्यान्न र बस्दोबस्तीका सामान लगिएको छ । पाल टागेर र गोठ हालेर जंगलमै बसेका छन् । कोही ओदारमा पनि बसेका छन् । बस्ति देखि टाढाको जंगलमा पदमार्ग निर्माण गर्नुपर्ने भएकाले काम गर्ने ठाउँमै बास बस्नुपरेको हो ।

लकडाउनका कारण धेरै ठाउँमा रोजीरोटी गुमेर मजदुर र विपन्न समुदाय समस्यामा परेपनि गुर्जाका बासिन्दाले गाउँमै रोजगारी पाएका छन् । चैत २१ गतेबाट पदमार्ग निर्माण सुरु भएको थियो । जंगलमै क्वारेन्टाइन बनाएको हिसाबले सामाजिक दुरि कायम र स्वास्थ्य सतर्कता अपनाएर स्थानीय मजदुर परिचालन गरिएको उपभोक्ता समितिले जनाएको छ ।

यो पदमार्ग निर्माण भएपछि मुदीको अर्चे हुदै तातोपानी र गुर्जा आवत जावत गर्ने बाटो सुरक्षित हुने बताइएको छ । भिर र जंगलको बाटोमा जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । पर्यटकका साथै स्थानीयबासीहरु लाभान्वित हुने भएका छन् । तातोपानी तथा गुर्जा गाउँको पर्यटन विकासका लागि पदमार्ग बनाउन लागिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: