आगालागी पिडितलाई जस्ता सहयोग

बेनी, १२ जेठ । म्याग्दीको मंगला गाउपालिका–२ हिदीका आगालागी पिडित सरस्वति दर्जीको घर पुननिर्माणका लागि जस्तापाटा सहयोग गरिएको छ ।

मंगला गाउँपालिकाले २० थान र सहयोग नेपाल संस्थाले ४५ हजार रुपैयाँ मूल्य बराबरको २४ थान रंगिन जस्तापाटा उपलब्ध गराएका हुन् । संस्थाका अध्यक्ष सबिना अधिकारी, उपाध्यक्ष जिवन शर्मा, कोषाध्यक्ष बिनोद केसीले शनिबार दर्जीलाई जस्तापाटा उपलब्ध गराउनुभएको थियो ।

२०७६ फागुन २९ गते आगोलागी हुँदा दर्जीको घर जलेर ध्वस्त भएको थियो । जस्तापाटा नभएर घर पुननिर्माणले पूर्णता पाउन सकेको थिएन् । गाउँपालिकासंग समन्वय गरेर घर पुननिर्माणका लागि जस्तापाटा उपलब्ध गराइएको संस्थाका उपाध्यक्ष जिवन शर्माले जानकारी दिनुभयो ।

आगोलागीपछि दर्जीका परियार टहरामा बस्दै आएका थिए । जस्तापाटा पाएपछि बर्खा सुरु हुनु अगावै घर पुननिर्माण गरिसक्ने दर्जीले बताउनुभयो । सहयोग नेपाल संस्थाले यसअघि चैत ११ गते आपतकालिन राहत अन्तरगत दर्जीलाई दश हजार रुपैयाँ मूल्य बराबरको चामल, दाल र चिनी उपलब्ध गराएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: