अन्नपूर्ण भित्रने नाकामा कडाई

बेनी, १३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउपालिका भित्र्ने मुख्य नाका महभिरमा पुलबाट हुने आवत जावतलाई कडाई गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शनिबार पोखरेबगरमा बसेको कार्यपालिका बैठकले महभिरको पुलमा गाउँपालिकाले समन्वय गरि अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बेनी–जोमसोम सडक अन्तरगत पर्ने महभिर अन्नपूर्ण गाउपालिका भित्र्ने मुख्य नाका हो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न आवत जावतलाई कडाई गरिएको हो ।

महभिर पुलबाट हुने आवत जावतको अनुगमन गर्न वडा न. ७ हिस्तानका वडा अध्यक्ष गमबहादुर फगामीको संयोजकत्वमा राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजा, दोवाका अध्यक्ष दिलिपकुमार गर्बुजा, कुलप्रसाद पुर्जा, हेमचन्द्र गर्बुजा, मायादेवि पाइजा र कृष्ण पुन सदस्य रहेको अनुगमन समिति गठन भएको छ ।

बाहिरी जिल्लाबाट आउन सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र सर्वोदय मावि भुरुङ्ग तातोपानीमा स्थापित क्वारेन्टिनको क्षमता वढाएर ५० बेडको बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

क्वारेन्टिन सञ्चालन र त्यहाँ बस्नेहरुको खाना खाजाको व्यवस्थापन गर्न भुरुङ्ग तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामीको संयोजकत्वमा कार्यपालिका सदस्य आत्मा तुलाचन, घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, नारच्याङ्गका अध्यक्ष चन्द्रप्रसाद फगामी, दानाका अध्यक्ष नरसिंहबहादुर पुर्जा, कार्यपालिका, बिष्णुकुमारी दमै, बिरबहादुर पौडेल, थमबहादुर बिक र पवित्रा खड्का सदस्य तथा स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल सदस्य सचिव रहनुभएको समिति गठन भएको छ ।

क्वारेन्टाइन व्यवस्थापन, सञ्चालन फिवर क्लिनिक, हेल्थ डेक्समा खटिने स्वास्थ्य सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँ बिनियोजन गरेको अन्नपूर्ण गाउपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने, उनिहरुको कोरोनाको द्रुत परिक्षण गरेको छ । पोखरेबगरमा हेल्थ डेक्स र फिवर क्लिनिक सञ्चालन, लकडाउनबाट प्रभावित विपन्नलाई खाद्यान्न वितरण गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: