कोरोना रोकथामका लागि सामग्री व्यवस्थापन गर्न पाँच लाख बिनियोजन

बेनी, १३ चैत । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथामको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ ।

समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बिहीबार प्रशासन कार्यालयमा बसेको बैठकले बेनी अस्पताल, कोरोना विशेष अस्थाई अस्पतालका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनका लागि समितिको कोषबाट रकम बिनियोजन गरेको हो ।

२०७२ को भूकम्पका बेला संकलन भएको ११ लाख ३२ हजार रुपैयाँ समितिको कोषमा थियो । कोरोनालाई पनि विपद्कै रुपमा मानेर कोषको रकम बिनियोजन गरेर आइसोलेशन वार्ड, अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि आवश्यक पर्ने सामग्री खरिद तथा व्यवस्थापन गर्न रकम बिनियोजन गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

समितिले बिनियोजन गरेको रकम अपुग भएमा बेनी नगरपालिकाले पाँच लाख र रघुगंगा गाउपालिकाले दुई लाख पचास हजार रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । यसअघि पाँच लाख रुपैयाँ बिनियोजन गरेको प्रदेश सरकारले प्रत्येक जिल्लामा थप पाँच लाख पठाउने जनाएको छ ।

यसैगरी कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि भएको गतिबिधिको दैनिक समिक्षा र रिपोटीङ गर्न प्रजिअकै अध्यक्षतामा कमाण्ड पोष्ट गठन गरिएको छ । पोष्टमा सुरक्षा निकायका प्रमुख, स्थानीय तह, अस्पताल, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, रेडक्रसका प्रतिनिधिलाई राखिएको छ ।

माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइड स्थित पुरानो भवनमा स्थापित अस्थाई अस्पताललाई क्वारेन्टाइन बनाउन, वेष्ट पोइन्टमा आइसोलेसन सहितको वार्ड बनाउने र कोरोनाका लक्षण देखिएका बिरामीलाई बेनी अस्पतालमा उपचार गराउने व्यवस्था मिलाइएको छ ।

पछिल्लो १५ दिनयता विदेशबाट आएकाहरुको लगत वडा र स्थानीय तहबाट बिहीबार बेलुकीसम्म संकलन गरेर उनिहरुलाई एकान्तबास बस्न लगाइएको छ । लकडाउन र निषेधाज्ञा प्रभावकारी भएको समितिको निष्कर्ष छ ।

विपद् व्यवस्थापन समितिको बैठकमा व्यक्तिगत हिसाबले आफुखुसी राहत संकलन र वितरण गर्ने कार्यलाई रोक्न लगाउने विषयमा छलफल भएको बैठकमा सहभागि रेडक्रसका प्रतिनिधि सुरज केसीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: