म्याद नाघेका पेय पदार्थ र खाद्यबस्तु नष्ट

बेनी, ७ चैत । बेनीमा शुक्रबार गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका पेय पदार्थ, औषधी र खाद्यबस्तु नष्ट गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, खाद्य पबिधि तथा गुण नियन्त्रण कार्यालय, प्रशासन, प्रहरी कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितामा बेनीमा रहेका १२ वटा औषधी र ७ वटा खाद्यान्न पसलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका पेय, मसाला र औषधी बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

२४ पिस सोप, ६ कार्टुन कोक, १२ पिस रोज वाटर, १० लिटर जुस, १५ प्याकेट कुरकुरे, ७ प्याकेट पापड, ८० बोत्तल स्पराइट, ९ बोत्तल फेन्टा, पानी पुरी बनाउने कच्चा पदार्थ ८ केजी, २ प्याकेट जिरा, ८ प्याकेज फोरन दाना, ६ प्याकेट चिया, ३ पोका दालमोड, १० पिस माडा नष्ट गरिएको सुवेदीले बताउनुभयो ।

कोक, फेन्टा, स्पराइट जस्ता पेय पदार्थ धेरै मात्रामा म्याद नाघेको भेटिएकाले बिक्रेता र डिलरलाई सचेत बनाएको अनुगमन टोलीले जनाएको छ । गणेशटोलको प्रयास मेडिकल हलमा म्याद नाघेका औषधीहरु बिक्रीका लागि राखेको भेटिएको थियो ।

खाद्यान्न, ग्याँस, तेल लगायतका बस्तुको आपुर्ति सहज भएपनि नुनको अभाव देखिएको अनुगमन टोलीले जनाएको छ । यसैगरी भारतीय कम्पनीले उत्पादन गर्ने औषधी पनि अभाव भएको छ । कोरोना भाइरसको त्रासका कारण बजारमा कालाबजारी हुने खतरा बढेपछि सम्बद्ध कार्यालय र निकायले चासो दिएर बजार अनुगमन गरेका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: